ईनरुवा / छरिएर रहेका दाजुभाईलाई एकत्रित गर्ने उद्येश्यसाथ लोहा बढिया थारु जातिले वंशज उत्थानको कार्यलाई अघि बढाएको छ ।
बसोबासका क्रममा छरिएको परिवारलाई जोड्ने उद्देश्य लिएर लोहा बढिया थारुले वंशज उत्थानको कार्यलाई अघि बढाएको हो ।
सुनसरीको झुम्कामा तेस्रो जिल्ला अधिवेशनको आयोजना गरेको सो परिवारले वंशज भित्रका परिवारको खोजी गर्दै जातीय पहिचान र संस्कृतिको जर्गेना गर्ने गरी अघि बढ्ने निर्णय समेत गरेको छ ।
अधिवेशनमा बोल्दै लोहा बढिया वंशज परिवार सुनसरीका सभापति पानालाल चौधरीले वंशज परिवारको पहिचान गरी अग्रजलाई सम्मान सँगै नयाँ पिढीमाझ पूर्खा बारेको ज्ञान दिलाउनु आफुहरुको मूल उद्देश्य रहेको बताउनु भयो ।
अध्यक्ष पानालालले आफ्नो जाति भित्रका वंशज परिवारलाई एकसुत्रमा बाँधी समस्या र चुनौति पहिल्याउँदै वंशजको हकहीतमा एकभई अघि बढ्न लोहा बढिया वंशज परिवार लागिपरेको बताउनु भयो ।
कार्यक्रममा लोहा बढियाका केन्द्र प्रमुख महेश प्रसाद चौधरी, सचिव सागर चौधरी, जिल्ला प्रतिनिधि हृदयनारायण चौधरी र बुद्धिजिवी नाथु प्रसाद चौधरीका साथै संस्थाका पदाधिकारी तथा सल्लाहकार लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला अधिवेशनका वक्ताहरुले आधुनिक बन्दै गएको समाजमा मर्यादित संस्कार हराउँदै गएको प्रति चिन्ता व्यक्त गरे । उनिहरुले आफ्नो वंशज, जाति र पहिचानलाई गुम्न नदिन युवा वर्गको भूमिका अपरिहार्य रहेको बताए । वक्ताहरुले अभिभावक वर्गले नेतृत्वदायी भूमिका खेल्नु पर्ने धारणा समेत राखेका थिए ।





