सुनसरी / सुनसरीको छुट्टाछुट्टै स्थानमा हुन लागेको मुस्लिम समुदायको धार्मिक कार्यक्रम इज्तेमा स्थगित गर्न जिल्लाका प्रमुख राजनीतिक दलहरुले अपिल गरेका छन् ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १३ स्थित खनारमा मंसिर ५,६ र ७ गते तथा दुहबी नगरपालिका वडा नम्बर १ स्थित प्रास्टोकीमा मंसिर ७,८ र ९ गते हुने भनिएको इज्तेमा कार्यक्रम गर्न स्थानीय प्रशासनले अनुमति नदिएपछि त्यसमा यहाँका प्रमुख राजनीतिक दलहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएको हुँदा सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक तथा लैंगिकजस्ता पक्षहरुको सम्मान र संरक्षण गर्ने राज्यको दायित्व र संकल्प भएको र सोहीअनुसार राज्य संचालन हुँदै आएको भनी संयुक्त बिज्ञप्ति जारी गर्दै सुनसरीका राजनीतिक दलहरूले वर्तमान सुरक्षा संवेदनशीलताका कारण तत्कालका लागि कार्यक्रम स्थगन गर्ने निर्णय भएबमोजिम जिल्ला सुरक्षा समितिको बैठकले समेत स्विकृति/अनुमति प्रदान नगर्ने भनी निर्णय भई सरोकारवाला पक्षहरुलाई समेत पटक-पटक जानकारी गराई सकिएको हुँदा नेपाल सरकार, गृह मन्त्रालयबाट सो सम्बन्धमा भएको निर्देशन, सरोकारवाला पक्षहरुसँग भएको सहमति तथा सोहीबमोजिम जिल्ला सुरक्षा समिति, सुनसरीले गरेको निर्णय तथा मंसिर ४ गते वसेको सर्वदलीय सर्वपक्षीय बैठकबाट समेत उक्त कार्यक्रम हाललाई स्थगन गर्ने भनी भएको निर्णय समेतका आधारमा इज्तेमा कार्यक्रम स्थगित गर्न अपिल गरिएको छ ।
वर्तमान सुरक्षा संवेदनशीलताको अवस्थामा केही उच्श्रृङ्खल तत्वहरुको समेत घुसपैठ हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै हाललाई सो कार्यक्रम स्थगन गर्न सम्बन्धित सरोकारवालाहरुलाई अनुरोध गर्दै पुनः मुलुकको वातावरण सहज भए पश्चात आपसी समन्वयमा आगामी कार्यक्रम तय गर्न उपयुक्त देखिएमा सोही बमोजिम हुने गरी जिल्लाका राजनीतिक दलहरूले संयुक्तरुपमा प्रेश विज्ञप्ति जारी गरेका छन् ।
उक्त प्रेश विज्ञप्ति नेपाली कांग्रेस सुनसरीका सभापती केदार भण्डारी,नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारी,नेकपा माओवादी केन्द्र सुनसरीका अध्यक्ष योगेन्द्र प्रसाद मण्डल (पप्पु),राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका अध्यक्ष दुर्गा बहादुर बस्नेत र जनता समाजवादी पार्टी, सुनसरीका अध्यक्ष भगिरथ खत्वेले हस्ताक्षर गरेका छन् ।