दुहबी / सुनसरीमा एक दर्जन बढी जनप्रतिनिधिविरुद्ध मिटरब्याजको उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार अनुचित लेनदेन (मिटर ब्याज) मा उजुरी परेका जनप्रतिनिधिहरूमा सदस्यदेखि वडाध्यक्षसम्म रहेका छन् । प्रशासनका अनुसार उक्त सङ्ख्या एक दर्जन बढी रहेको छ ।
सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार उजुरी परेका अधिकांश जनप्रतिनिधि उपरको विषय जग्गा कारोबार र आर्थिक लेनदेनसँग जोडिएको छ ।
पाण्डेले भनिन्, ‘मिटर ब्याजमा जनप्रतिनिधिका साथै ठेकेदार, व्यवसायी, गाउँ–समाजका गन्यमान्य मानिने व्यक्तिहरू, साहुमहाजन तथा आपसी लेनदेन र कारोबार गर्ने सर्वसाधारण उपरसमेत उजुरी परेको छ ।
सोही अनुरूप उजुरीको प्रकृति र मुद्दा केन्द्रित विषय केलाएर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।’ सुनसरी प्रशासनका अनुसार हालसम्म प्रशासनमा मिटर ब्याजसँग सम्बन्धित ३ सय ४६ वटा उजुरी परेका छन् ।





