दुहबी / सर्वोच्च अदालतको अल्पकालीन आदेशपछि जन्मसिद्धको आधारमा नागरिकता बन्ने बाटो बन्द भएपछि नागरिकता पाउनबाट बञ्चित सुनसरी दुहवीका युवाहरुले बिरोध गर्दै प्रदर्शन गरेका छन् ।
उनीहरुले आज सोमबार दिउंसो दुहवीमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेका हुन् ।
दुहवीका युवाहरुले गरेको विरोध प्रर्दशनमा विभिन्न नारासहितका प्लेकार्ड बोकेका युवाहरुले नागरिकता विधेयकको विरोध गरी रहेका दल तथा तिनका नेताहरुको विरुद्ध दुहवी बजार परिक्रमा गर्दाै चर्को नाराबाजी गरेका थिए उनीहरुले एमाले अध्यक्ष केपी ओली, रास्वपा अध्यक्ष रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन विरुद्ध नाराबाजी गरेका थिए ।
युवाहरुले प्रदर्शनको क्रममा ऐन कानुन लागू गर, नागरिकता विधेयक पारित गर, अनागरिक बनाउन पाइदैन, हाम्रो जीवनसँग खेलबाड नगर जस्ता नारा लगाएका थिए । उनीहरुले दिउसो ५ः३० बजे दुहवी बजार परिक्रमा गरी चोकमा आएर नाराबाजीसहित जुलुस प्रदर्शन समेत गरेका समाजवादी विद्यार्थी युनियन प्रदेश नं. १ सदस्य तथा समाजवादी विद्यार्थी युनियन दुहवी नगर अध्यक्ष चन्दन बैठाले बताए ।