सुनसरी / सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ ।
आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ ।
डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेका छन् भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।
धरान ५ सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आइतबार बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो ।
धरान-५ को खारखोला र अधेरी खोलाको संगम स्थलमा बहुजातीय रंगशाला बनाउने धरान उपमहानगरले निर्णय गरेको थियो । उक्त क्षेत्रमा एक तले पक्की घर निर्माण गरिएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी अतिक्रमित जग्गा खाली गराइएको नगरप्रमुख हर्क साम्पाङले बताए ।
उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर निर्माण गरेको आरोप लगाएको छ ।
धरान उपमहानगरपालिकाले संरक्षण गरी बहुजातीय रंगशाला बनाउने भनेको स्थानमा अनधिकृत बसोबास बस्न थालेकोले र पटकपटक आग्रह गर्दा पनि अटेर गरेर घर निर्माण गरेकोले भत्काउनुपरेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।
पहिला देखिनै उक्त जग्गाको भोगचलन गर्दै आएको भन्दै स्थानीयले खोलाको भाग सीमांकन गर्नुपर्ने माग राखेका थिए ।
यसअघि पनि बन्दै गरेका अवस्थामा उक्त घर भत्काउन नगर प्रहरीसहितको टोली डोजर लिएर उक्त स्थानमा पुगेका थियो तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्किएको थियो
उपमहानगरको टोली घर भत्काउन आएपछि अन्तरिम आदेश माग गर्दै घरधनी मुना चौधरी लिम्बू सुनसरी जिल्ला अदालत पुगेकी थिइन् । अदालतले निवेदकले माग गरेअनुरुप अन्तरिम आदेश जारी गरिरहनु नपर्ने बताएको थियो ।
५ नम्बर वडा कार्यालयलाई विपक्षी बनाएर परेको निषेधाज्ञा मुद्दामा माघ ६ गते अधिवक्ता द्वय माधव प्रसाद कोइराला र प्रकाशराज ओझाको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश जारी गर्नुपर्ने भए सो को आधार र कारण खुलाउन १५ दिनको म्याद सहित आदेश जारी गरेको थियो ।
खोला किनार र सार्वजनिक जग्गामा नया घर निर्माण गर्ने कार्यलाई निरुत्साहित गर्न उपमहानगरले अभियान चलाएको छ भने पुराना निर्माण भएका संरचनालाई व्यवस्थित गर्ने नीति लिएको छ ।





