सुनसरी / कोसी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारस्थित काली मन्दिरअगाडिको सडकमा भेटिएको नगद सोमबार सम्बन्धित धनीलाई फिर्ता गरिएको छ।
सडकमा फेला परेको ४१ हजार ६ सय ३५ रूपैयाँ ट्राफिक प्रहरीले धनीलाई फिर्ता गरेको हो।
को १ ज २९६७ नम्बरको म्याजिक भ्यानका चालक लालबहादुर राउतले मंसिर १४ गते रकम फेला पारेर ट्राफिक प्रहरी पोस्ट दुहवीलाई बुझाएका थिए। उक्त रकमका धनी इटहरी–६ का अशोककुमार साह रहेको खुलेको छ।
आफूले बोकेको नगद खसेर हराएको भन्दै साह ट्राफिकको सम्पर्कमा आएका थिए। ट्राफिक प्रहरी पोस्ट दुहवीका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असइ) मनोज श्रेष्ठले उनलाई रकम हस्तान्तरण गरेका हुन्। साहले इटहरीबाट मोटरसाइकलमा विराटनगरतर्फ आउँदै गर्दा आफ्नो साथमा भएको रकम खसेर हराएको बताए।‘
साथमा भएको पैसा हराएपछि भेटिन्छ होला भन्ने आशा मारिसकेको थिएँ। तर फेला पारेर सुरक्षितसाथ राखिदिनु भएको रहेछ,’ उनले भने, ‘फेला पार्ने म्याजिक चालक र मलाई फिर्ता दिने ट्राफिक प्रहरीलाई धन्यवाद दिन चाहन्छु। पैसा हराएपछि मैले निक्कै तनाव बेहोर्नु पर्यो।’ असइ श्रेष्ठले पनि साथमा भएको नगद तथा सामान सम्बन्धित धनी स्वयंले सुरक्षित राख्नुपर्नेमा जोड दिए।