दुहबी / सुनसरीको दुहवी बजार क्षेत्रका स्थानीयले निर्माणमा ढिलासुस्ती भएको भन्दै सडक जाम गरेका छन् । सडक निर्माण सम्झौता गरेको साह निर्माण सेवा कम्पनीले काममा ढिलासुस्ती गरेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् 
इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक घनेन्द्र हाङका अनुसार विस्तारको कामका लागि भत्काएको सडकमा सवारी गुड्दा धुलो धेरै उड्न थालेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । केहिबेरको विरोधपछि नियमित पानी हाल्ने र कामलाई अगाडी बढाउने सहमतिपछि सडक अवरोध हटेको प्रहरी निरीक्षकले जानकारी दिनुभयो ।
छ लेन सडक आयोजनासँग निर्माण सम्झौता गरेको साह निर्माण सेवाका प्रोपाइटर जयप्रकाश साहले भने निर्माणका क्रममा रहेको सडकमा धुलो उडेको भन्दै विरोध गरिएको बताउनुभयो । निर्माणका लागि आवश्यक पर्ने सामाग्री अभाव भएका कारण पनि कामलाई अगाडी बढाउन असजिलो भएको प्रोपाइटर साहको भनाई छ ।
ठेक्का सम्झौता हुँदा भन्दा अहिले दुईगुणाले वस्तुको मूल्य बृद्धि भएको छ, साहले भन्नुभयो-सम्झौता रकमले सडक निर्माणको काम बढाउन नसक्ने स्थिति आएको छ । दुहवीका स्थानीयले समयमै सडक विस्तारको काम गर्न नदिएका कारण अहिले सास्ती बेहोर्नु परेको छ । छलेन सडकको सीमा क्षेत्र समयमै क्लियर गर्न नदिएका कारण ठेक्का ढिलो लागेको हो । २ करोड रुपिँयामा मर्मत गर्ने गरि ठेक्का लिइएको सडकको काम पछिल्लो ढेड महिनायता भईरहेको छ । साहले २० दिन सडक क्लियर गर्न लागेको र बाँकी काम अगाडी बढिरहेको बताउनुभयो ।





