विराटनगर । १४ बर्षीय निश्चल राय मृत्यु प्रकरणको सत्यतथ्य सार्वजानिक गर्न माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
बुधबार मोरङको बुढीगंगा–४ हात्तीमुडास्थित बस्ने रायको रहस्यमय मृत्यु भएको भन्दै स्थानीयले सत्यतथ्या छानबिनको नतिजा सार्वजनिक गर्न माग गर्दै सिडियो कार्यालय घेराउ गरेका हुन् । घटना छानबिन तथा अनुसन्धानमा प्रहरीले गम्भीरता नदेखाएको उनीहरुको आरोप छ । सोही बिषयमा आपत्ति जनाउँदै स्थानीय र विद्यार्थीहरुले बुधबार दिउँसो १ देखि २ बजेसम्म मोरङ प्रशासन घेराउ गर्दै प्रर्दशन गरेका हुन् ।
निश्चल राय मृत्यु प्रकरणको सत्यतथ्य सार्वजनिकीकरणको माग गर्दै मंगलबार पनि विद्यार्थीहरुले निमुवामा १ घण्टा चक्का जाम गर्दै प्रर्दशन गरेका थिए । बुढीगंगाका स्थानिय सम्मिलित संघर्ष समितिले यसअघि चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । बुधबारको कार्यक्रम पनि पुर्वनिर्धारित थियो । उच्च स्तरिय छानबिन समिति गठन गरि घटनाको सत्यतथ्य सार्वजनिक गरिनुपर्ने, दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने तथा पीडित परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गरिनुपर्ने संघर्ष समितिको माग छ ।
कात्तिक २२ गते घर नजिकै खेलिरहेको बेला अचानक हराएका १४ बर्षीय निश्चलको २४ गते बिहान सिंघिया खोलामा शव फेला परेको थियो । हराएपछि पटक–पटक त्यस ठाउँमा खोजी गरिएपनि फेला नपरेका बालक शव २४ गते बिहान पानीमा बग्दै गरेको अवस्थामा भेटिएका थिए ।