नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज आज (बिहीबार) परेको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा हरितालिका तीज मनाउने गरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले भगवान महादेव (शिव) को पूजा आराधना गरेर व्रस्त बस्दै मनाउने प्रचलन छ ।
हिमालय पुत्री पार्वतीले सत्ययुगमा गौरीघाटमा तपस्या गरेर बरदान माग्दा महादेव पति पाएको मानिन्छ । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि उनले साथीलाई आफ्नो समस्या सुनाइन् ।
त्यो कुरा थाहा पाएका साथीहरुले पार्वतीलाई भाद्र शुक्ल तृतीयाका दिन हरण गरेर कसैले नदेख्ने ठाउँमा लग्दै लुकाएर राखिदिएका छन् । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेको मान्ने गरिन्छ ।
पार्वतीलाई हरण गरिएको दिनदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको शास्त्रीय मान्यता छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको हो । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने बुझिन्छ ।
सत्ययुगमा निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गर्छन् । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्एको भनाइ छ ।
निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताइन्छ । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम मानिन्छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ ।
विवाहित महिलाले पतिको दिर्घायु तथा अविवाहितले शुयोग्य वर पाउनका लागि अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार व्रत बस्दै भगवान शिवको पूजा गर्ने परम्परा छ । तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा परिकार खाने गरिन्छ । हरितालिका तीजको दिन देशभरका शिवालय तथा मन्दिरहरुमा व्रतालुको भीड लागने गर्छन । तर कोरोना महामारीले तीज विगतजस्तो उल्लासमय नहुने भएको छ ।