दुहबी / आफ्नाविरुद्ध समाचार प्रकाशित भएपछि इन्टरनेट प्रदायक निजी कम्पनी क्लासिकटेकमाथि विराटनगरबाट सञ्चालित आवर विराटनगर डटनेटको वेभासाइट ब्लक गरेको आरोप लागेको छ । शुक्रबार सेवाग्राहीले विराटनगरस्थित शाखा कार्यालयमा तालाबन्दी गरेको समाचार प्रकाशित भएपछि क्लासिटेकले आफ्नो इन्टरनेटभित्र समाचार पोर्टल ब्लक गरेको आरोप लागेको हो ।
समाचार पोर्टल ब्लक गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासङ्घ मोरङले तत्काल क्षमा याचनासहित प्रतिबन्ध हटाउन माग गरेको छ । ब्लक नखोले जस्तोसुकै कदम चाल्ने महासङघले चेतावनी दिएको छ
विराटनगर ट्राफिक चौकस्थित शाखा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेकोको समाचार शुक्रबार प्रकाशित भएपछि क्लासिटेकले समाचार पोर्टल नै ब्लक गरेको आवर विराटनगर डटनेटका कार्यकारी निर्देशक सरोज कार्कीले जानकारी दिए । क्लासिटेकको इन्टरनेटमा भिपिएन प्रयोग गरेपछि मात्रै वेभसाइट खुल्ने गरेको उनले बताए ।
दुई सातायता विराटनगरमा क्लासिटेकको इन्टरनेट स्लो छ । पटक–पटक गुनासो गर्दापनि सुधार नभएपछि तालाबन्दी गरेको सेवाग्रााही अमित गुप्ताले बताए । नेपाल पत्रकार महासङ्घ प्रदेश १ अध्यक्ष लिलाबल्लभ घिमिरेले समाचार लेखेकै कारण समाचार पोर्टल ब्लक गर्नु गलत भएको बताए । उनले तत्काल प्रतिबन्ध खोल्न आग्रह गरे ।
क्लासिक टेकको नेशनल म्यानेजर भुपालसिंह कार्की समाचार पोर्टल ब्लक नगरिएको दाबी गर्छन् । क्लासिटेकको डिएनएस सर्भरमा समस्या आएका कारण केही वेभसाइट नखुलेको बताउँदै समस्या समाधान गर्ने प्रयास भइरहेको बताए । ‘अन्य केही वेभसाइट नखुलेको गुनासो आएको छ,’ उनले भने, ‘डिएनएस सर्भरमा समस्या देखिएको छ । मेन्टेनेन्स भइरहेको छ ।’ उनले तालाबन्दी गर्ने सेवाग्राहीको समस्या पनि शुक्रबार नै समाधान गरिएको बताए ।