मोरङ / सशस्त्र प्रहरीको घुमुवा बनेर नेपाल–भारत सीमा क्षेत्रका बासिन्दासँग पैसा असुल्न खोज्ने एक जना युवा मोरङको धनपालथानबाट आइतबारसाँझ पक्राउ परेका छन् ।
सशस्त्रका नक्कली घुमुवा बनेर तस्करीको लाइन चलाउन सहयोग गर्छुभन्दै पैसा उठाउन खोजेको पाइएपछि रंगेली नगरपालिका–२ का २० वर्षीय मनिष रायलाई धनपालथान गाउँपालिका–३ मायागञ्जबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । रायलाई सीमा प्रहरी चौकी मायागञ्जको टोलीले साँझ ७ बजेतिर पक्राउ गरेर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाएको छ ।
पक्राउ परेका रायले आफू सशस्त्र प्रहरीको घुमुवा भएकाले नेपालबाट भारत र भारतबाट नेपालतिर तस्करीको लाइन चलाउन सहयोग गर्ने बताउँदै आएका थिए । तस्करीको लाइन चलाएर सीमा वारिपारि सामान ल्याउन र लैजान सहयोग गर्ने भन्दै उनले केही महिला र स्थानीय बासिन्दालाई धम्की दिएर पैसा असुल्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
तर अहिलेसम्म उनले कोहीकसैबाट पैसा लिइसकेको प्रमाण भने प्रहरीले फेला पारेको । यस विषयमा थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । रायविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।





