विराटनगर / विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका कोरोना सङ्क्रमितमध्ये एक जनाको हृदयघातका कारण मृत्यु भएको छ ।
कोरोना पुष्टि भएपछि उपचार गराउन भर्ना गरिएका सङ्क्रमितमध्ये पहिलो पटक हृदयघातका कारण एक पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मृतक विराटनगर महानगरपालिका–३ का ५५ वर्षीय पुरुष हुन् । उनको उपचारकै क्रममा आज (शनिबार) बिहान ५ः५० बजेतिर मृत्यु भएको दाहालले बताए ।
उनका अनुसार कोरोना सङ्क्रमित पुरुषमा एक्कासि हृदयघातको समस्या थपिएको थियो । अचानक समस्या थपिएपछि थप उपचार गर्न नपाउँदै मृत्यु भएको दाहालको भनाइ छ । मृतक पुरुषको कोसी अस्पताल विराटनगरमा पीसीआर परीक्षण गराउँदा वैशाख १५ गते रिपोर्ट पोजिटिभ आएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेका उनी होम आइसोलेसनमा रहेका थिए ।
तर श्वासप्रश्वासमा अचानक समस्या भएपछि उपचारका लागि शुक्रबार बिहान ११ बजेतिर अस्पताल भर्ना गरिएको थियो । ‘मृतकमा स्वास्थ्य सम्बन्धी पुरानो कुनै समस्या नरहेको पाइएको छ,’ प्रबन्धक दाहालले भने, ‘कोरोनाको उपचार जारी रहेका बेला हृदयघातको समस्या पनि थपिएपछि बचाउन सकिएन ।’
विराटनगरका पुरुषसँगै नोबेलको आइसोलेसनमा सङ्क्रमित तीन जना पुरुषको शनिबार बिहान आधा घण्टाभित्रमा मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक जना प्रदेश १ को राजधानी विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन् ।
सप्तरीको राजविराज–९ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो १ बजेतिर अस्पताल भर्ना गरिएको थियो ।
उपचारका क्रममा मृत्यु भएका सङ्क्रमितमा उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको दाहालले बताए । ‘उपचारका लागि ल्याउँदा सङ्क्रमितको अवस्था गम्भीर थियो,’ दाहालले भने, ‘तत्काल उपचार थालिएको भए पनि बचाउन सकिएन ।’
त्यस्तै नोबेलमै उपचाररत महोत्तरी घर भएका अर्का सङ्क्रमितको पनि बिहान ६ः१५ बजेतिर मृत्यु भएको छ । महोत्तरीको महत्तरी–६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो अस्पताल भर्ना गरिएको दाहालले बताए । कोशि अनलाई बाट





