विराटनगर / १७ वर्षीया किशोरीसँग होटलमा आपत्तिजनक अवस्थामा भेटिएका सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई प्रहरीले जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ ।
किशोरीले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय धरानले जबरजस्तीकरणी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानबहादुर बस्नेतका अनुसार जागिर लगाइदिने बहानामा अध्यक्ष यादवले किशोरीलाई बुधबार धरानको डुकु होटलमा लिएर गएका थिए ।
किशोरीको जाहेरीपछि बिहीबार दिउँसो म्याद थपका लागि अध्यक्षलाई जिल्ला अदालत सुनसरी लगिएको उनले बताए । धरान उपमहानगरपालिका–१३ भेडेटार जाने सडक किनारमा रहेको डुकु होटेलबाट यादव आपत्तिजनक अवस्थामा भेटिएका थिए ।
दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले किशोरी १७ वर्षको मात्रै रहेको जानकारी पाएपछि यादवलाई नियन्त्रणमा लिएको थियो । ‘किशोरीले जाहेरी दिएपछि म्याद थप भएको छ,’ डिएसपी बस्नेतले भने, ‘जागिरको प्रलोभन देखाएर जबरजस्ती धरान लिएर आएको देखिन्छ ।’
अध्यक्ष यादवले जागिर लगाइदिन्छु भन्दै आफ्नो इच्छाविपरीत करणी गरेको किशोरीले प्रहरीमा बयान दिएको डिएसपी बस्नेतले जानकारी दिए । कोशि अनलाईन बाट





