दुहबी / भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको पाइएपछि सुनसरीको इनरुवा ८ का वडा अध्यक्ष रविन्द्र मण्डल प्रहरीको खोजी सूचीमा परेका छन् ।
भारतीय नागरिक सोनी साहलाई नेपाली नागरिकताको लागि सिफारिस गरेको खुलेको भन्दै प्रहरीले वडा अध्यक्ष मण्डलको खोजी थालेको हो ।सुनसरी प्रहरीले वडा अध्यक्ष सम्पर्क बाहिर रहेकाले उनको खोजी भैरहेको जनाएको छ ।
प्रहरीले जिल्ला अदालतबाट अनुसन्धान अनुमती लिई थप अनुसन्धानको प्रकृया अघि बढाएको जनाएको छ ।प्रहरीले दिएको जानकारी अनुसार भारत विहार मुजफ्फरपुरका सोनी साहले ८ नम्वर वडा कार्यालयबाट २०७५ जेठ १५ गते लिएको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सोही दिन नेपाली नागरिकता लिएको खुलेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौमा परेको उजुरीका आधारमा प्राप्त अनुसन्धान आदेश पश्चात छानविनको क्रममा अध्यक्ष मण्डल समेतको संलग्नता खुलेको प्रहरीको भनाई छ ।
अनुसन्धान अधिकृत सरोज खनालका अनुसार छानविनका क्रममा नक्कली आमा बनेर वडा नम्बर ८ की सन्तोषी साह हलवाईले सनाखत गरेको पाइएको छ । प्रहरीले दिएको जानकारी अनुसार सन्तोषीको श्रीमान् पिर्थी कुमार साह हलवाईलाई भारतीय नागरिक सोनीको बाबु बनाइएको छ
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नेपाली नागरिकता बनाउने प्रयोजनका लागि वडा कार्यालयले भारतीय नागरिक सोनी साविक डुम्राहा ७ मा जन्मेको भनी सिफारिस दिएको छ । वडा अध्यक्ष मण्डलले प्रमाणित गरेको सिफारिसमा भारतीय नागरिक सोनीको जन्म मिति २०५४ साल १२ महिना २५ गते उल्लेख छ ।
प्रहरीका अनुसार सिफारिस दिलाउने कार्यमा संलग्नताको आधारमा तत्कालिन वडा सचिव इनोद कुमार पोखरेल र कर्मचारी गोविन्द प्रसाद पोखरेल उपर समेत अनुसन्धान तथा छानविनको प्रकृया अघि बढाइएको छ ।
प्रहरीले अध्यक्ष फेला नपरेकाले उनलाई फरार सूचीमा राखिएको जनाएको छ । उता वडा कार्यालयका कर्मचारीले भने अध्यक्ष काम विशेषले बिदा बसेको बताएका छन् । कर्मचारीले दिएको जानकारी अनुसार भतिजोको विवाहका लागि भन्दै अध्यक्षले एक महिनाको बिदा लिएका छन्
भारतीयलाई नेपाली नागरिकता सिफारिस दिइएको विषयमा बिदा बस्नु पूर्वको अध्यक्षको भनाई उद्यृत गर्दै एक कर्मचारीले भने, ‘स्थानीय व्यक्ति बाबुआमा बनी तयार पारिएको कागजातका आधारमा वडाले सिफारिस दिएको हो ।
अध्यक्ष सहितका वडाका कर्मचारीलाई झुक्याएर सिफारिस लिइएको पाइयो । थप कुरा अनुसन्धानमा खुल्नेछ । अदालतको निर्णय अन्तिम हुनेछ ।’नेपाली नागरिकता सम्बन्धी ऐन, २०६३ को दफा २१ को उपदफा २ बमोजिम कुनै विदेशीलाई झुटो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैंया सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।