दुहबी / सुनसरी जिल्ला प्रशासन कार्यालयले पछिल्लो समयमा छिमेकी भारतमा कोभिड–१९ को संक्रमण बढेकाले सतर्क रहन जिल्लाबासीमा अनुरोध गरेको छ ।
संक्रमण बढ्नसक्ने भएकाले स्वास्थ्य मन्त्रालयले सचेत रहन गरेको अपिल बमोजिम जिप्रका सुनसरीले बुधबार एक सूचना जारी गर्दै स्वास्थ्य सचेतता अपनाउन सर्वसाधारणमा अपिल गरेको हो ।
नेपाल–भारत खुला सीमाबाट भइरहेका आवत–जावतले जोखिम निम्तिन सक्नेतर्फ सचेत गराउँदै अनावश्यक आवत–जावत नगर्न र स्वास्थ्य सचेतता अपनाउन जिप्रकाले अनुरोध गरेको छ । त्यस्तै, हिन्दूहरूको पर्व होली निकट आएकाले होली मनाउने क्रममा भिडभाड नगर्न पनि भनिएको छ । भिडभाड हुने कुनै गतिविधि नगर्न, रात्रिकालीन व्यवसायहरूमा हुने जमघट कम गर्न र अबेर रातिसम्म व्यवसाय सञ्चालन नगर्न जिप्रकाले पत्रमा उल्लेख गरेको छ ।
पहिले कोरोना संक्रमणका बेला स्थापना गरिएका क्वारेन्टिन, आइसोलेसन सेन्टरहरूलाई पुनः दुरुस्त राख्न पनि पत्रमा भनिएको छ । कुनै पनि बेला संक्रमणको संकट निम्तिनसक्ने भएकाले जिल्लाभित्रका स्वास्थ्य संस्थाहरूलाई सतर्क रहन, सञ्चारमाध्यममा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सामग्री प्रशारण गर्न तथा सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।