विराटनगर / कडाईका केही सीमालाई कायम राख्दै लामो समयपछि मोरङमा निषेधाज्ञा हटाइएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागिभन्दै मोरङमा जारी गरिएको निषेधाज्ञा १७ दिनपछि जिल्ला सुरक्षा समितिको बैठकबाट हटाउने निर्णय भएको हो ।
११ गतेबाट बीचबीचमा समय थप गर्दै लगाइएको निषेधाज्ञाको समय आइतबारराति १२ बजेबाट भने पूर्ण रुपमा सकिएको छ
पछिल्लो पटक भदौ २२ गते जारी गरिएको निषेधाज्ञाको समय आइतबारराति सकिनुअघि सुरक्षा समितिले निषेधाज्ञा नलम्ब्याउने र हटाउने निर्णय गरेको हो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले सरकारले गरेका कडाईका केही सीमा तथा सतर्कता र सजगतालाई कायम राखेर निषेधाज्ञा हटाइएको जानकारी दिए ।
सरकारले सञ्चालनमा रोक लगाएका क्षेत्रमा प्रतिबन्ध कायम रहने र खुल्ला रहने क्षेत्रमा पनि सुरक्षा सावधानी अपनाउनु पर्ने उनले बताए । यसका विषयमा नियमित अनुगमन भइरहेको जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्तासमेत रहेका खड्काले बताए ।
सुरक्षा समितिले सरकारले तोकेको मापदण्ड पूरा गरेर बजार र पसल साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने र औषधि पसलहरु नियमित सञ्चालन हुने निर्णय गरेको छ ।
सिटी सफारी जोरविजोर प्रणाली अनुसार यातायात मापदण्ड पालना गर्दै दुई जना मात्रै यात्रु राखेर सञ्चालन गर्न पाइने छ निजी सवारी साधन सञ्चालन हुन पाउने छन् ।
होटल तथा रेस्टुरेन्टबाट ‘होम डेलिभरी’को सुविधा दिए पनि भेटघाट र भेलाजम्मा हुन रोक लगाइएको छ ।
भेलाजम्मा भएर हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु, मेला, चाडपर्व, साप्ताहिक हाटबजार, महोत्सव, सभा–सम्मेलन तथा अन्य सामूहिक गतिविधीमा रोक लगाइएको जानकारी खड्काले दिए ।
उनका अनुसार सुरक्षा, जनस्वास्थ्य, यातायात लगायतका अन्य मापदण्डको पालना गरेर उद्योग करकारखाना सञ्चालन गर्न पाइने छ ।
जिल्लाभर राति ९ बजेबाट बिहान ५ बजेसम्म हिँडडुलमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको सहायक प्रजिअ खड्काले बताए । उनका अनुसार अत्यावश्यक कामबाहेक १० वर्षसम्म र ६० वर्षभन्दा माथिको उमेर समूहकालाई घर बाहिर निस्कन र आवतजावतमा रोक लगाइएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका साथै सर्वसाधारणको जीवनयापनलाईसमेत सहज बनाउँदै जानलाई निषेधाज्ञा हटाएर सरकारका नियमको पालना गराउनेतर्फ केन्द्रीत भइरहेको खड्काको भनाइ छ ।
उनले सुरक्षा सावधानी नअपनाउने र सञ्चालनमा रोक लगाइएको क्षेत्र सञ्चालन गर्नेलाई भने संक्रामक रोग ऐन २०२० अनुसार कारबाही अघि बढाइने जानकारी दिए ।
मोरङमा हालसम्म कोरोना संक्रमित संख्या दुई हजार दुई सय १२ पुगेको छ । कोरोना संक्रमित २८ जनाको मृत्यु भइसकेको छ ।





