विराटनगर, / मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित कुखुराको दाना (चारो) उत्पादन गर्ने उद्योग परिषरभित्र ट्रकका चालकको शव भेटिएको छ ।
ट्रकबाट खसेर मृत्यु भएको अवस्थामा बीआर ११ जीए ०७६१ नम्बरको ट्रकका चालक भारतको विहार पूर्णियाका ३७ वर्षीय इन्द्रजीत मण्डलको शव शनिबार बिहान भेटिएको हो । उनी नेपाल वेल होप एग्रिटेक प्रालि अन्तर्गतको विजय पेलेट दाना उद्योगका लागि भारतबाट मकै ढुवानी गर्ने चालक रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार मण्डल खाना खाएर शुक्रबारराति त्यही ट्रकमा लोड गरिएको मकैको बोरामाथि सुतेको पाइएको छ । मकैको बोरामाथि सुतेका ट्रकका चालकलाई बिहान भुइँमा खसेको अवस्थामा मृत फेला पारिएको एसपी खड्काले बताए ।
उनी बिहीबारराति भारतबाट खुकुराका लागि दाना उत्पादन गर्न आवश्यक पर्ने मकै लिएर आएका थिए । ट्रकमा लोड गरिएको मकै अनलोडको पर्खाइमा रहेका चालक खाना खाएर शुक्रबारराति ट्रकमाथि सुतेको र तल खसेर मृत्यु भएको अवस्थामा शनिबार बिहान शव भेटिएकोभन्दै उद्योगले प्रहरीलाई जानकारी दिएको छ ।
निधाएका बेला चाल नपाएर ट्रकबाट खसेपछि उनको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरीले शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।