दुहबी / मोरङको बुढीगंगा गाउँपालिका– १ स्थित रहेको आरती स्ट्रीप्समा कार्यरत दुई जना मजदुरमा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएपछि स्थानीय सरकारले कम्पनीलाई सिल गर्न पत्रचार गरेको छ ।
संक्रमित मजदूरहरूले उद्योगमा काम गरिरहेको र अन्य मजदूरसँग पनि घुलमिल भइ संक्रमण समुदायस्तरमा फैलन सक्ने निष्कर्ष निकाल्दै गाउँपालिकाले उद्योग सिल गर्न पत्रचार गरेको हो ।
आरती स्ट्रीप्सका प्रशासन प्रमुख दिवश नेपालले दुई मजदुरमा कोरोना संक्रमण पुष्टि भएसँगै सोमबारबाट उद्योग सिल गरिएको बताए । संक्रमित दुवैलाई उद्योगले आफ्नै क्वारेन्टाइनमा राखेको बताए ।
प्रशासन प्रमुख नेपालले उद्योग सिल भएको बताएपनि उद्योग नियमित रूपमा सञ्चालन भइरहेको बताइएको छ ।
मजदुर तथा कामदारको नियमित आवगमनमा कमी आएको छैन, एक कर्मचारीले भने, उद्योगभित्र र बाहिर संंक्रमण फैलन सक्ने जोखिम बढेको छ । तर प्रशासन प्रमुख नेपालले उद्योग सञ्चालनमा नरहेको बताए ।