दुहबी / सुनसरीमा ढुवानी बाहेकका सवारी संचालनमा रोक लगाउने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालया बसेको डीसीसी एमसीको बैठकले भिडभाड बढेसंगै कोरोना संक्रमणको जोखिम थपिएको निष्कर्श निकालेको छ ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले मालबाहक सवारी साधन बाहेक भाडाका साधनहरु सिटी सफारी, रिक्सा, टेम्पो, म्याजिक, माइक्रो लगायत संचालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।बैठकले अत्यावश्यक बाहेकका बजार, पसल मध्यान्ह १२ देखि अपरान्ह ४ बजेसम्म मात्र खोल्न पाइने निर्णय गरेको छ।
त्यस्तै बैठकले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहहरुमा एम्बुलेन्स र शव वाहन तयारी अवस्थामा राख्ने, सीमामा थप कडाई गर्ने निर्णय समेत गरेको छ ।
बैठकले संक्रमण देखिएका स्थानहरुमा आवश्यकता हेरी पीसीआर परीक्षणको दायरा बढाउँदै लैजाने समेत निर्णय गरेको छ ।
प्रशासनमा भएको छलफलले स्थानीय तहले आफ्नो क्षेत्रमा लक डाउन गर्नु पर्ने अवस्था आए स्वयं निर्णय गर्न सकिने समेत जनाएको छ ।