सुनसरीको इनरुवा नगरपालिकाले आजबाट पूनहः लकडाउन गर्ने निर्णय गरेको छ । सरकारले लकडाउन खोलेको भएपनि इनरुवा नगरपालिकाले लकडाउन कडा गर्ने निर्णय गरेको हो । आज बसेको सरोकारवालाहरुको बैठकले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि लकडाउन कडा पार्ने निर्णय गरेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताउनुभयो ।
इनरुवा ३ महेन्द्रचोक स्थित एक जनामा पिसिआर टेष्ट गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको र उक्त व्यक्ति बजारका विभिन्न पसलहरुमा गएर सामग्री खरिद गरेका कारणले लकडाउन गरिएको नगरपालिकाले जनाकारी दिनुभयो । लकडाउनलाई उल्लंघन गरेको पाइए त्यस्ता व्यक्तिलाइ क्वारेन्टाइनमा राखिने समेत नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाले अत्यावश्यक सेवा बाहेक इनरुवा क्षेत्र पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको बताउनुभयो ।