विराट टिचिङ अस्पतालमा डाक्टरको लापरबाहीले ४ वर्षीया बालिकाको ज्यान गएको आफ्न्तको आरोप
दुहबी / मोरङको बुढीगंगा गाउँपालिकामा रहेको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा ४ वर्षीया सन्ध्या मण्डलको मृत्यु भएकाछन ।
सुनसरीको बोक्राह नर्सिङ गाउँपालिका–४ की मण्डललाई पुस ५ गते हर्नियाको समस्याका कारण अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले पहिलो चरणको अपरेशन सफलतापूर्वक सम्पन्न गरेको दाबी गरेपनि त्यसपछिको उपचार प्रक्रियाले गम्भीर विवाद खडा गरेको छ। मृतकका पिता शिव मण्डलले डाक्टरहरूले आफूलाई जानकारी नदिई दोस्रो अपरेशन गरेको आरोप लगाएका छन्।
उनले उपचार प्रक्रियामा गम्भीर लापरबाही भएको भन्दै छोरीको मृत्युको जिम्मेवारी अस्पतालले लिनुपर्ने बताएका छन्। “डाक्टरहरूको लापरबाहीका कारण मेरी छोरीको ज्यान गयो। यो घटना हत्या नै हो,“ उनले भने।
अस्पताल प्रशासनले भने आफूमाथि लगाइएका आरोप निराधार रहेको भन्दै उपचार प्रक्रियामा परिवारलाई परामर्श दिइएको दाबी गरेको छ। कोअर्डिनेटर देवले भने, “दोस्रो अपरेशनको निर्णय परिवारको सहमतिपछि गरिएको हो। यसमा अस्पतालको कुनै लापरबाही छैन।“
अपरेशनपछि बालिकाको स्वास्थ्यमा जटिलता उत्पन्न भएको र घाउमा इन्फेक्सन तथा पानी जमेको कारण चौथो दिन पुनः अपरेशन गर्नुपर्ने अवस्था आएको अस्पतालका कोअर्डिनेटर सुनिल देवले जानकारी दिए।
तर, दोस्रो अपरेशनपछि बालिकाको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएर उनको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।
बालिकाको मृत्युको घटनाले अस्पतालको पारदर्शिता र उपचारमा लापरबाहीबारे गम्भीर बहस खडा गरेको छ। स्थानीयबासी र मृतकका परिवारले यस घटनाको विस्तृत अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
यस प्रकरणले चिकित्सा क्षेत्रमा हुने सम्भावित लापरबाही र उपचार प्रक्रियाको पारदर्शितालाई पुनः सतहमा ल्याएको छ। मानव जीवनसँग प्रत्यक्ष जोडिएको चिकित्सा क्षेत्रप्रति नागरिकको विश्वास कायम राख्न यस्ता घटनाहरूको स्वतन्त्र र निष्पक्ष अनुसन्धान अपरिहार्य रहेको सरोकारवालाहरूको भनाइ छ।
यसै गरी पटक पटक विराट टिचिङ अस्पतालमा डाक्टरको लापरबाहीले विरामीको मृत्यु हुने गरेको आरोप लाग्ने गरेका छन ।





