दुहबी / कोशी राजमार्ग अन्तर्गत पर्ने सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित खनारमा यात्रुवाहक बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । घटनालगत्तै आक्रोशित स्थानीयले बसमा आगो लगाएका छन् ।
इटहरीबाट विराटनगर आउँदै गरेको मे१ख ४५७४ नम्बरको नागरिक यातायातको बसले ठक्कर दिँदा इटहरीस्थित जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सम्झना यादवको मृत्यु भएको थियो ।
दुर्घटना पछि भागेको बसलाई आक्रोशित स्थानीयवासीले आगो लगाएका हुन् । आगजनीका कारण बस पूर्णरुपले ध्वस्त भएको छ । सो दुर्घटनालगत्तै खनार क्षेत्र तनावग्रस्त बनेको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।