काठमाडौँ / गृह मन्त्रालयले धार्मिक र सामाजिक सद्भाव खलबल्याउने गतिविधि गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
तराई–मधेसका केही जिल्लामा सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा भड्काउने काम भइरहेको भन्दै मन्त्रालयले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने बताएको हो ।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय धनुषा लगायतका स्थानमा देखिएका अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सामाजिक सञ्जालको प्रयोग गरेर निश्चित समुदाय र धर्मलाई लक्षित गरी तोडफोड, आगजनी र लुटपाट जस्ता हिंसात्मक गतिविधि गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइसकिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
स्थिति नियन्त्रणमा लिन र सद्भाव कायम राख्न गृहमन्त्रीको नेतृत्वमा आइतबार र सोमबार विशेष सुरक्षा बैठक बसेको छ । तराईका २१ जिल्लाका सुरक्षा अधिकारी, विभिन्न आयोगका पदाधिकारी र समुदायका अगुवासँगको छलफलपछि संयमता र सतर्कता अपनाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
जातजाति र सम्प्रदायबिच खलल पार्ने, गाली बेइज्जत गर्ने र अपराध गर्न दुरुत्साहन गर्ने खालका घृणाजन्य अभिव्यक्ति कानुनअनुसार दण्डनीय हुने गृहले स्मरण गराएको छ । जोसुकैले जहाँसुकैबाट यस्ता गतिविधि गरे पनि उम्कन नपाउने र कानुनबमोजिम कारबाही भोग्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।
बहुजातीय र बहुधार्मिक मुलुकमा एक अर्काको अस्तित्व स्वीकार गर्दै सहिष्णुता कायम राख्न पनि गृहले अपिल गरेको छ ।





