दुहबी / सुनसरीको दुहबी बजार बिल्टप एरियाको ६३० मिटर क्षेत्रमा सडक विभागले बल प्रयोग गरेर प्रहरीको कडा सुरक्षा बिच राजमार्ग सडकबाट ६/६ मिटर सेट ब्याक डिस्टेन्स ७ वटा स्काभेटरद्वारा खाली गराइदैछ ।
स्थानीयहरुले दायर गरेको रिट १ महिना अगाडी सर्वोच्च अदालतले खारेज गरेसँगै सडक विभागले १ महिना भित्र राजमार्ग सडकबाट ६/६ मिटर सेट ब्याक डिस्टेन्स खाली गर्न सूचना जारी गरेको थियो । सूचनाको समय हिजो सकिए लगतै आज बजार क्षेत्रमा डोजर चलाइएको छ ।
डोजर लगाउने क्रममा ६/६ मिटर सेट ब्याक डिस्टेन्स सिमा भन्दा बढी घरहरु चर्किएको आरोप लगाउदै स्थानीयहरु बिरोध गर्दै केहिबेर सडकमा बसेर धर्ना समेत दिएका थिए ।
रानी विराटनगर इटहरी धरान सडक परियोजनाले सुनसरी जिल्लाको दुहबी नगरपालिका क्षेत्रमा सेट ब्याक डिस्टेन्स ६/६ मिटर चौडाइको काम सुरु गरेको हो । दुहबी नगरपालिकाको बिल्टप क्षेत्र अन्तर्गत ६३० मिटर बजार क्षेत्रमा ५४ फिट चौडाइको सडक छ भने सडकको दुवै तर्फ सेट ब्याक डिस्टेन्स गरी ६/६ मिटर खाली गराइदैछ ।





