दुहबी / सुनसरीको दुहबी स्थित भलुवा खेल मैदानमा जारी एघारौं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको आज बुधबार भएको अन्तिम क्वाटर फाइनल खेलमा जस्ट जोन एफ.सि. नाइजेरियाले एम.एफ.सि. सुनसरीलाइ ५-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ८० मिनेटको अत्यन्तै रोमाञ्चक एवं प्रतिस्पर्धात्मक भएको खेलको २१ औं मिनेटमा एम.एफ.सि. सुनसरीका खेलाडी निरज परियारले १ गोल गर्दै आफ्नो टिमलाई १-० ले अग्रता दिलाएका थिए । खेलको २३ औं मिनेटमा जस्ट जोन एफ.सि. नाइजेरियाका खेलाडी तायोले १ गोल गर्दै आफ्नो टिमलाई बराबरीमा पुगाएका थिए । खेलको ३० औं मिनेटमा जस्ट जोन एफ.सि. नाइजेरियाका खेलाडी ओलायो डेबिडले १ गोल गर्दै २-१ ले अग्रता दिलाए । खेलको ३४ औं मिनेटमा जस्ट जोन एफ.सि. नाइजेरियाका खेलाडी ओलायो डेबिडले थप १ गोल गर्दै आफ्नो टिमलाई ३-१ ले अग्रता दिलाए । खेलको मध्यान्तर पछिको ३३ र ३८ औं मिनेटमा जस्ट जोन एफ.सि. नाइजेरियाका खेलाडीहरु अब्दुल सलाम र बकारे अमिदले १-१ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराए ।
खेलको उत्कृष्ट खेलाडी जस्ट जोन एफ.सि. नाइजेरियाका खेलाडी ओलायो डेबिड घोषित भए ।
उनले नगद ५ हजार सहित मेडल प्राप्त गरे ।
बिहिवारको पहिलो सेमिफाइनल खेल चात्यासा फुटबल क्लब झापा र मेमोरी युवा क्लब दुहबीबिच हुनेछ ।





