सुनसरी/ सुनसरीमा जारी निषेधाज्ञा भोलिदेखी केही खुकुलो पारिने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बुधबार बसेको बैठकले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो ।
पछिल्लो पटक पाँचदिनयता मात्रै प्रशासनले जेठभर निषेधाज्ञा गर्ने र कुनै पसल खोल्न नपाइने निर्णय गरेको थियो । तर, बुधबारको बैठकले भने निषेधाज्ञा केही खुकुलो पार्ने जनाएको छ ।
बुधबारको बैठकले जिल्लामा रहेका खाद्यान्न, स्टेसनरी, फलफूल तथा तरकारी पसल बिहीबारबाट खोल्न पाइनेछ । तरकारीको हकमा भने घुमाएर बेच्न पाइने प्रशासनले जनाएको छ । घरमै गएर बिक्री वितरण गर्न पाइने भएपनि हाटबजार, गुद्री, सब्जी मण्डी जस्ता स्थानमा भने प्रतिबन्ध लगाइएको छ
त्यस्तै, दूध, माछामासु बिहान १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म खोल्न पाइनेछ । अन्य समयमा भने बन्द गर्नुपर्ने प्रशासनले जनाएको छ । यसअघिका अन्य निर्णयहरु भने यथावत् नै रहेको। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । जिल्लामा पहिलोपटक वैशाख १६ गते बैठक बसेर १७ गतेबाट निषेधाज्ञा गर्ने निर्णय गरेको
थियो ।





