गढी/ सुनसरीको गढी गाउँपालिकाको लापरबाहीले सामाजिक सुरक्षा भत्ता पाउन सास्ती भएको सो गाउँपालिकाका ज्येष्ठ नागरिकहरु र एकल महिलाहरुले गुनासो गर्नुभएको छ।
गढी गाउँपालिका वडा नम्बर २ औराबनी र वडा नम्बर १ मधेलिका सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिकहरु र एकल महिलाहरुले एक हप्ता देखि आफुहरु गाउँपालिकाको कार्यालय धाएपनि सामाजिक सुरक्षा भत्ता न पाएको भन्दै आक्रोश पोखेका छन्।
नेपाल सरकारले मासिकरूपमा ज्येष्ठ नागरिकलाई ३ हजार र एकल महिलालाई दुई हजार दिने बर्षमा ३ पटक तीन किस्तामा सामाजिक सुरक्षा भत्ता पाउने भएपनि यस बर्ष एक पल्ट मात्र भत्ता पाएको ज्येष्ठ नागरिक र एकल महिलाहरुले गुनासो गर्नु भएको छ।
सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिकहरु र एकल महिलाहरुले सामाजिक सुरक्षा भत्ताको पैसा सुरुमा आफ्नो गाउँ नजिकै रहेको सिधार्थ बैंकको औराबनी शाखाबाट आफुहरुले पाउदै आएपनि हाल आएर गाउँपालिकाका अध्यक्षले टाढाको बैंकमा खाता खोल्न लाएको भन्दै आफुहरुलाई यसप्रकारको सास्ती मान्य न हुने भन्दै गाउँपालिका परिसरमा नारावाजी गरेका थिए।
आफुहरु एक सातादेखि बारम्बार गाउँपालिका धाउदा समेत आफुफरुको समस्या गाउँपालिका अध्यक्षले वास्ता न गर्दा आफुहरु आन्दोलन गर्न बाध्य हुने ज्येष्ठ नागरिक अन्ठु धामी, पदमादेबि चौधरी र एकल महिलाहरुले बताउनुभयो।
सो विषयमा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवका अनुसार सामाजिक सुरक्षा भत्ताको पैसा सुरुमा सिधार्थ बैंकको औराबनी शाखाबाट वितरण गर्दै आएकोले हाल आएर भिडभाड भएकोले वितरण गर्न अप्ठ्यारो परेकोले एक्सेल बैंक भमरि शाखामा खाता खोलिएको हुँदा एक्सेल बैंकमा सबै ज्येष्ठ नागरिक र एकल महिलाहरुले खाता खोल्नु पर्ने बताउदै सामाजिक सुरक्षा भत्ताको पैसा अबदेखि एक्सेल बैंकबाटै वितरण गरिने जनाए।






