दुहबी / निर्वाचन नजिकिँदै जाँदा सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको आरोप लागेको छ।
गाउँ–गाउँमा डिजे बजाउँदै र विभिन्न तरिका अपनाएर भोट मागिरहेको भन्दै स्थानीयस्तरमा व्यापक गुनासो उठेको छ।
स्थानीयहरुका अनुसार उम्मेदवार तथा तिनका समर्थकले आचारसंहिता विपरीत डिजे बजाउने, झन्डा, ब्यानर तथा प्रचार सामग्री सार्वजनिक स्थानमा झुन्ड्याउने, र ई–रिक्सामा उम्मेदवारको तस्बिर तथा चुनाव चिह्न राखेर प्रचार गर्ने कार्य भइरहेको छ।
यस्ता गतिविधिले निर्वाचनको निष्पक्षता र मर्यादामाथि प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ।
मतदाता रिझाउन उम्मेदवार तथा तिनका टोलीले बैठक, घरदैलो, खेतबारी स्थलसम्म पुगेर भोट माग्ने कार्यलाई तीव्र बनाएका छन्। “अरू बेला भेट नहुने नेता अहिले घर, खेतबारी र खेल मैदानसम्म पुगेर भोट मागिरहेका स्थानीय लिलि यादवले बताइन्।
निर्वाचन आचारसंहिताअनुसार फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र प्रचारप्रसार गर्न पाइने स्पष्ट व्यवस्था गरिएको छ। तर उम्मेदवारले विभिन्न उपाय अपनाउँदै उक्त समयसीमालाई छल्ने प्रयास गरेको आरोप लागेको छ।
यस विषयमा सुनसरी क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत पदम बहादुर कार्कीले आचारसंहिता विपरीत डिजे बजाएर वा अन्य निषेधित तरिकाले प्रचारप्रसार गर्न नपाइने स्पष्ट पारे।
स्थानीय सरोकारवालाले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सम्बन्धित निकायको ध्यान जानुपर्ने माग गरेका छन्। निर्वाचनको निष्पक्षता कायम राख्न नियम उल्लंघन गर्ने गतिविधिमाथि कडाइका साथ निगरानी र कारबाही आवश्यक रहेको उनीहरूको भनाइ छ।




