दुहबी / सुनसरीको दुहबीमा भएको सामूहिक कुटपिटका कारण दुहबी ४ घर भएको अन्दाजी ४५ वर्षीय सकिल मियाको मृत्यु भएको दुहबी प्रहरीले जनाएका छन ।
घटना सार्वजनिक भएपछि प्रहरीले तत्कालै परिचालन भएर घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार गत मंगलबार बेलुकी ८.३० बजेको समयमा सकिल मिया लाई साईकल चोरेको आरोपमा सामुहिक कुटपिट गर्दा सकिल गम्भीर घाइते बनेका थिए। उपचारका लागि लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको प्रहरी बाट प्रारम्भिक जानकारी आएको छ।
दुहबी प्रहरीले कुटपिटमा संलग्न अन्य व्यक्तिहरूको पहिचान भइरहेको र थप पक्राउका लागि स्थानीयसँग अभिसूचना संकलन गरिरहेको जनाएको छ। प्रहरी नियन्त्रणमा रहेका स्थानीय दुहबी ४ घर भएको सन्तोष साह र जिवन गोस्वामी माथि प्रारम्भिक बयान लिइएको र घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्र पुष्टि हुने दुहबी प्रहरीले बताएको छ।
मृतकका आफ्न्तले कुटपिटमा संलग्न सबैलाई कडा कारबाही गर्न माग गरेका छन्। मृतकको शव पोष्टमार्टमका लागि कोशी अन्चल अस्पताल पठाइएको छ ।
—




