दुहबी / दुहबी नगरपालिका क्षेत्रमा पछिल्लो समय अवैध रूपमा सञ्चालन भइरहेका माटो उत्खनन तथा ढुवानीका कारण करोडौँ रुपैयाँ लागतमा निर्माण गरिएका पक्की सडकहरू जिर्ण बन्दै गएका छन् । भारी क्षमताका डोजर, टिपर र ट्रकको अनियन्त्रित आवत–जावतका कारण केही वर्षअगाडि मात्रै कालोपत्रे गरिएको सडक अहिले खाल्डाखुल्डीले भरिएको छ ।
स्थानीयवासीका अनुसार दुहबी–९,७,१०,११,१२ नम्बर वडा तथा बर्जु जोडने सिंचाइ नहरको कृषि बाटोको पक्कि सडक सबैभन्दा बढी प्रभावित बनेका छन् । सो पक्कि सडक छेउमा माटो उत्खनन गरी टिपरमार्फत विभिन्न स्थानमा विक्री–वितरण गरिँदा सडकले अत्यधिक भार धान्न नसकी भत्किन थालेको हो ।
स्थानीय बासिन्दा हरिहर चौधरी भन्छन्,।
“घर अगाडि बनेको कालोपत्रे सडक दुई वर्ष पनि टिक्न सकेन । दिन–रात माटो बोक्ने टिपर चलेपछि अहिले हिँड्न पनि मुस्किल छ । धुलोले बालबालिका र वृद्धहरुको स्वास्थ्यमा पनि गम्भीर असर पुगेको छ ।”
करोडौँ लगानी पानीमा जाने खतरा ।
सो सिचाइको बाटो बिगत लामो समय देखि जिर्न अवस्था भई हिडडुल समेत गर्न कठिन हुदै आए पछि दुहबी नगरपालिका प्रमुख वेदना नारायण गच्छ्दारको पहलमा सङ्घीय तथा प्रदेश सरकारको बजेटबाट केही वर्ष यता मात्र सो सडक पक्कि सडकको रूपमा निर्माण योजनामा करोडौँ रुपैयाँ लगानी गरेको थियो । तर, माटो कारोबारीको मनपरीका कारण ती योजनाहरू अल्पायुमै क्षतिग्रस्त हुन थालेका छन् । इन्जिनियरहरूको प्रारम्भिक अनुमान अनुसार सो सडक पुनः मर्मत गर्न थप करोडौँ रुपैयाँ आवश्यक पर्ने अवस्था देखिएको छ ।
नियम विपरीत माटो उत्खनन
स्रोतका अनुसार अधिकांश स्थानमा आवश्यक वातावरणीय अध्ययन (EIA) र नगरपालिका अनुमति बिना नै माटो उत्खनन भइरहेको छ ।सिचाइ , खोलाबाट, सामुदायिक जंगल नजिक तथा कृषियोग्य जमिनबाट खुलेआम माटो निकालिँदा बाढी, कटान र जमिन भासिनेजस्ता जोखिम पनि बढेको छ ।
एक स्थानीयका अनुसार सुनसरी मोरङ सिचाइ योजना रामगंज शाखा समितिको उच्च स्तरीय पदमा बसेका केही व्यक्तिको संरक्षणमा माटो कारोबार भइरहेको आरोप स्थानीय स्तरमै उब्जिएको छ । “प्रशासनलाई जानकारी गराउँदा पनि कहिले टिपर समातिन्छ, केही घण्टामै छुट्छ । जसले गर्दा कारोबारीहरू अझै हौसिएको बताए ।
नगरपालिकाको प्रतिक्रिया
यस विषयमा दुहबी नगरपालिकाले भने अनुगमनलाई अझ कडा बनाइने प्रतिक्रिया दिएको छ । नगरपालिकाका एक जिम्मेवार अधिकारीले नाम गोप्य राख्ने सर्तमा भने,
“अवैध माटो उत्खनन र भारी सवारीका कारण सडकमा क्षति पुगेको गुनासो धेरै आएको छ । हामी प्रहरी सँग समन्वय गरेर नियन्त्रणको प्रयासमा छौँ ।”
स्वास्थ्य र वातावरणमा असर
सडक भत्किँदा धुलोको मात्रा अत्यधिक बढेपछि दुहबीका बस्तीहरूमा दमा, एलर्जी, आँखा र छालासम्बन्धी समस्या बढ्दै गएका छन् । साथै, खोलानाला अनियन्त्रित उत्खननका कारण वर्षायाममा कटान र डुबानको जोखिम पनि बढेको छ
स्थानीयको माग
स्थानीय सर्वसाधारण र नागरिक समाजले
अवैध माटो उत्खनन तत्काल रोक्न,
अनुमति बिना चल्ने टिपर–ट्रकमाथि कडाइ गर्न,
क्षतिग्रस्त सडकको क्षतिपूर्ति माटो कारोबारीबाट असुल गर्न
सरकारसँग माग गरेका छन् ।
यदि समयमै कडा कदम नचालिए दुहबीका सिचाइको कृषि सडक लगायत अधिकांश भित्री सडक पूर्ण रूपमा भत्किने र सार्वजनिक लगानी पूर्ण रूपमा नोक्सान हुने स्थानीयको चिन्ता छ ।




