दुहबी / सुनसरी मोरङ जोड्ने बुढी खोलामा यस वर्ष पनि छठ पूजा समिति दुहवीले भव्यताको साथ छठ पर्व मनाउने भएका छन ।
समितिले आईतबार पत्रकार सम्मेलन गरी सुनसरी–मोरङ जोड्ने बुढी खोलामा करीब १.५ किलोमिटर क्षेत्रफलमा ४ सय ५० वटा पूजा स्टल निमार्ण गरिएको समितिका अध्यक्ष सुनिल कुमार झाले जानकारी दिएका छन् ।
हरेक वर्ष झै यस वर्षको छठ पर्व अवलोकनका लागि करिब ३० हजार भन्दा बढी भक्तजनहरुको सहभागी हुने अनुमान गरिएको छ भने श्रद्धालु भक्तजनहरुका लागि शान्ति सुरक्षा संगै एम्बुलेन्स सहितको स्वास्थ्य सेवा, घाट खोला छेउमा बिजुली, खानेपानी, आदी सेवा सहज रुपमा उपलब्ध गराइने समितिका सचिव चन्दन वैठाले बताएका छन् ।
यस वर्ष छठ पर्वका लागि गरीब तथा विपन्न वर्गहरुलाई निशुल्क छठ पूजा स्टलको ब्यवस्था संगै रात्री सुरक्षाकर्मीको समेत प्रवनध गरिएको समितिका सचिव वैठाले बताएका छन् ।
भोलि सोमबार छठ पूजा आरम्भ हुने, दिउँसो सन्ध्याकालिन आरधाना हुने र छठ पूजाको अन्तिम दिन मंगलबार बिहान सूर्य पूजाको आरधाना गर्नुको साथै पूजा सम्पन्न गरि प्रसाद वितरण गरिने कार्यक्रम रहेको छठ पूजा समितिले जानकारी दिए ।
छठ पूजा सम्पन्न गर्न अनुमानित ६ लाख ५० हजार खर्च लाग्ने जानकारी दिइएको छ । समितिले छठ घाटमा आउदा सम्पूर्ण श्रद्धालु भक्तजनहरुले अनिवार्य रुपमा सहयोग रसिद लिन र घाटमा आउदा साथमा लिएर आउन समेत अनुरोध गरेका छन ।
यस पर्वको मुख्य विशेषतामा शक्तिरुपी माता छठ र संसारलाई प्रकाशमान पार्ने सूर्यदेवको संयुक्त रुपमा पूजा गरेर पर्व मनाउने गरिन्छ । परिवारको कल्याण, सन्तान प्राप्ति र छाला रोगका साथै विभिन्न रोगबाट मुक्तिका लागि यो पर्व मनाउने गरिन्छ । सबै जाति, उमेर, धर्म, लिंग, दल, वर्ग र सम्प्रदायका सहभागी हुने यो समावेशी पर्वमा घरका ज्येष्ठ र स्वस्थ महिलाले पूजाको नेतृत्व गर्छिन्
रोचक के छ भने यो पर्वमा घरदेखि घाटसम्म युवा पुस्ताको सक्रिय सहभागिता हुन्छ । घाट सिंगार्ने, पुजन सामग्री बोक्ने र धार्मिक विधिमा सहयोग गर्नेमा उनीहरु सबैभन्दा अगाडी हुन्छन् । एक्लैले यो पर्व गर्न सम्भव हुन्न । घरमा ठेकुवा एवं भुसुवा लगायतका प्रसाद तयार गर्नेदेखि घाटमा अर्घय दिने बेलासम्म छरछिमेक समेत सहयोग गर्न आइपुग्छन् ।
आर्थिक रुपले असक्षमले भिख मागेरै पनि खुशी एवं गर्वका साथ यो पर्व मनाउँछन् । सम्पन्नले समेत भाकल पुरा भएमा भिक्षा मागेर पुजा गर्ने अठोट लिन्छन् र पुरा भएमा गर्छन् । आफैँले गर्न नसक्नेले चिनेका व्रतालुलाई सामग्री किनेर दिइ पूजामा सहभागी हुन्छन् । घरदेखि जलाशय किनारसम्म प्राचिन वस्तीको जस्तै रमझम हुने यस पर्वमा सहभागी हुँदा र प्रसाद मागेर खाँदा पुजा गरे जतिकै धर्म हुने विश्वास गरिन्छ ।
यो पर्वको चर्चित प्रसाद ठेकुवा गहुँको पिठोमा सख्खर, घिउ, नरिवल, सुप, छोकरा र किसमिस मिसाएर खजुरी झैं आकार प्रकारले बनाइन्छ । त्यसैगरी चामलको पिठोमा यिनै सामग्रीहरु मिसाई लड्डुु आकारको भुसुवा बनाइन्छ । हातले वा काठको ब्लकमा ठोकीठोकी बनाउने हुनाले ठेकुवा र खाँदा फुट्ने हुनाले भुसुवा भनिएको हो ।
ती पकवान तथा विविध प्रकारका मौसमी फलफुल, गेडागुडी, सुपारी, सुकमेल, काजु, किसमिस, बदाम र छोकडा लगायतका सामग्रीलाई बाँसको कोनिया, ढकी र नाङ्गलोमा राखिन्छ । मुख्य व्रतालुले परिवारजनसहित गीत गाउँदै घाटमा पुगी आइतबार साँझ अस्ताइरहेको र सोमबार बिहान उदाइरहेको सूर्यलाई अर्घय दिई पुजा समापन गर्ने गर्दछन् ।




