काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री तथा प्रदेश सभासद् लीलाबल्लभ अधिकारी माथि लागेको मानव तस्करी बारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मानव तस्करीको घटनामा अनुसन्धान शुुरु गरेको हो । तत्कालीन मन्त्री अधिकारीले प्रदेश मन्त्रीपरिषद्को निर्णयबिना तथा सङ्घीय सरकार तथा परराष्ट्र मन्त्रालयको स्वीकृतिबिना यही कात्तिक १४ गते खोटाङका दावा शेर्पा, जनक राई र रसुवाका कञ्चन देवकोटा सहित जापान गएका थिए ।
मन्त्री अधिकारी बाहेक अन्य तीन जनालाई भने टोकियो स्थित जापानको अध्यागमन कार्यालय प्रवेश अनुमति नदिई नेपाल डिपोर्ट गरेको थियो । नेपाल फर्काइएका तीन जनालाई सोही दिन अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको थियो ।
सोही प्रकरणमा नक्कली कागजपत्र तयार गर्ने गरी लिखत सम्बन्धी कसुर गरेको आरोपमा प्रहरीले धादिङका महेश पाण्डे, नुवाकोटका जुगल रिजाल र दोलखाका वीरबहादुर लामालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
आफू माथि लागेको आरोप पछि मन्त्री अधिकारीले बुधबार पदबाट राजीनामा दिएका छन् ।
स्रोत Avenues