जुगेश दास
सुनसरी / सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ४ स्थित हरिनगरा बजारमा टिप्परको ठक्करबाट एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। शनिबार दिउँसो भएको यस दुर्घटनामा देवानगञ्ज गाउँपालिका वडा नं. ७, पक्की टोलका ६८ वर्षीय झल्लु उराँवको ज्यान गएको हो।
सिटिजन बैंकको उत्तरपट्टि रहेको सडक हुँदै गइरहेका झल्लु उराँवलाई को १ ह ६४३१ नम्बरको टिप्परले ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले जनाएका छन्। उनी तरकारी किन्न हरिनगरा बजार जाने क्रममा उक्त दुर्घटनामा परेका थिए।
दुर्घटनापछि टिप्पर चालकले जानाजानी पुनः टिप्पर घुमाएर उराँवलाई किचेको स्थानीय प्रत्यक्षदर्शीहरूले आरोप लगाएका छन्। घटनापछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्, र यसले क्षेत्रमा तनावको स्थिति सिर्जना गरेको छ।
झल्लु उराँवका परिवारमा उनकी श्रीमतीमात्र रहेका छन्। सन्तान नभएका कारण परिवार आर्थिक रूपमा कमजोर अवस्थामै रहेको मृतकका भाइ रूपलाल उराँवले जानकारी दिएका छन्।
घटनास्थलमा स्थानीयवासीले दोषीलाई कडा कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका छन्। भिड नियन्त्रणका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीद्वारा अश्रुग्यास प्रयोग गरी भिड तितरबितर पारिएको छ।
घटनामा संलग्न टिप्पर चालकलाई नियन्त्रणमा लिइएको छ, र उनी इलाका प्रहरी कार्यालय हरिनगरामा राखिएको छ।
स्थानीयका अनुसार साँघुरो सडक, बाटोमा जम्मा भएका दाउरा-काठ, र सवारीको तीव्र गतिले दुर्घटना भएको हो। यस घटनाले सडक सुरक्षामा ध्यान दिनुपर्ने गम्भीर आवश्यकता औंल्याएको छ।सडक सुरक्षाको खस्कँदो अवस्था र सवारीसाधन चालकको लापरवाहीले गर्दा यस्ता दुर्घटनाहरू बारम्बार भइरहेको स्थानीयको भनाइ छ।
स्थानीयले मृतक परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कडा सजाय दिन जोडदार माग गरेका छन्। यस्तै दुर्घटनाको रोकथामका लागि प्रभावकारी कदम चाल्न स्थानीयवासीले सरकार र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन्।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





