दुहबी / सुनसरीको दुहबी नगरपालिका २ स्थित बन्द रहेको अरूण वनस्पती उद्योग लिमिटेडको मिल मेशिनरी सामान संचालक दिनेश गोल्छाले शेयर सद्स्यको मन्जुरी बिना माल सामान बेचेको आरोप लगाउदै शेयर सद्स्य तथा स्थानीयहरु आन्दोलित भएका छन ।
बिहीबार सो उद्योग बाट बेच्न लगदै गरेको माल सामान शेयर सद्स्यहरु तथा स्थानीयले उद्योगको गेटमा रोकेका हुन ।
स्थानीय मुस्तकिम मियाका अनुसार अरूण वनस्पती उद्योगमा नेपाल सरकार र सर्वसाधारणको समेत शेयर रहेको हुदा
उद्योग संचालकले प्रक्रिया नपुराई माल सामान बेच्न लान खोजे पछि रोकेको बताए ।
उनका अनुसार उद्योगले माल सामान बेच्न नेपाल सरकार र शेयर सद्स्यहरुको मन्जुरी तथा अनुमती कागज आफुहरु लाई उपल्बध गराए कुनै पनि माल सामान बेच्न नरोकने बताए ।
यता सोही उद्योगका शेयर सदस्य बिरखा मियाका छोरा मुरसिद मियाका अनुसार सो उद्योगमा बुवा बिरखा मियाको शेयर रहेको दाबी गर्दै उद्योग संचालकले माल सामान बेच्न आफुहरु संग कुनै सम्झौता नगरीकन मनपरी तरिकाले बेच्ने गरेको भन्दै आफुहरुको क्षती पुर्ती नदिए सम्म कुनै पनि सामान बेच्न नदिने बताए ।
नेपाल सरकारको समेत शेयर रहेको सो उद्योगको सामान गोल्छाले वीरगञ्जका व्यापारीलाई १० करोड ५० लाखमा बेचेका हुन् ।
वीरगञ्जको अनिल ट्रेडर्सले मिल मेशिनरी पत्रूको भाउमा खरिद गरेको हो । समाचार स्रोतका अनुसार जम्मा १० करोड ५० लाखमा सौदा भए पनि हिसाब भने ८ करोड ५० लाख मात्र देखाउने सहमतिमा मिल मेशिनरी गोल्छाले बेचेको आरोप छन
सो काममा वीरगञ्जका सुरेश, अनिल, अजय, बलराम बर्मालगायत पा“च जना व्यापारिक साझेदार छन् । मिल मेशिनरीहरू काटेर रातारात गाडीमा लोड गरी त्यहा“बाट टपाउने गरिएको छ । नेपाल सरकार र सर्वसाधारणको समेत शेयर रहेको सो उद्योग लामो समयदेखि बन्द छ ।
कम्पनी ऐन २०२१ अनुसार स्थापना भएको अरूण वनस्पतीमा नेपाल सरकारसमेत शेयर सदस्य रहेको नेपाल व्यापार कम्पनी (कोशी) लिमिटेडको प्रति शेयर रू १०० दरले ५४ हजार कित्ता शेयर ५४ लाखमा खरिद गरेको छ ।
अरूण वनस्पती उद्योगको विवरणपत्रको ४ नम्वर बुँदाको ‘क’मा आधारभूत आवश्यकीय खाद्य वस्तुहरूमध्ये वनस्पती घ्यू तथा प्रशोधित खाने तेलको सुलभ र सुचारू रूपले आपूर्ति गर्ने मुख्य उद्देश्य लिई श्री ५ को सरकारको समेत लगानी भएको नेपाल व्यापार कम्पनी (कोशी) लिमिटेड र निजी क्षेत्रको हुलास मेटल क्राफ्टस् प्रालि तथा अन्य उद्योगपति एवं व्यापारीहरूको सहभागितामा यस कम्पनीको स्थापना २०४५ साल जेठ २६ गते श्री ५ को सरकार उद्योग विभागमा पब्लिक कम्पनीको रूपमा दर्ता भएको भन्ने प्रष्ट उल्लेख छ ।
कम्पनीको अधिकृत पूँजी ९ करोड हो भने तीन लाख कित्ता शेयरबाट तीन करोड जारी पूँजी हुने छ भन्ने प्रष्ट उल्लेख छ । सो कम्पनीले १ करोड ४३ लाख ४१ हजार मूल्य बराबरको १ लाख ४३ हजार ४ सय १७ कित्ता शेयर बिक्री गरेको थियो । सो कम्पनीको मुख्य लगानीकर्ता भने नेपाल व्यापार कम्पनी र हुलास मेटल क्राफ्टस् प्रालि हुन् । कम्पनी पब्लिक लिमिटेड भए पनि शुरूदेखि नै गोल्छा अर्गनाइजेशनले नै सञ्चालन गर्दै आएको थियो ।
उद्योग एक दशक जति नाफामा चले पनि शेयर सदस्यहरूलाई लाभांश बा“डेको देखिंदैन । कारखाना रहेको ठाउँ दुहबीमा कम्पनीको नाममा कम्पाउण्डसहितको ३ बिघा १७ कट्ठा साढे ११ धुर जग्गा छ । लामो समयदेखि उद्योग बन्द छ । २०६३ साल साउन २४ गतेपछि कम्पनीको साधारणसभा बसेको पनि देखिंदैन ।
यही बीचमा दिनेश गोल्छाले कारखानाको अचल सम्पत्ति (कारखानाको भवन र जग्गासमेत) श्री निवास सारडा र प्रदीप मुरार्कालाई २९ करोड ७५ लाखमा बिक्री गरेका थिए । सम्पत्ति बिक्रीको सौदा गरेवापत दिनेश गोल्छाले सारडा र मुरार्कासँग ५ करोड रूपैयाँ बैनावापत लिएका थिए ।
कम्पनीको सम्पत्ति व्यक्तिगत किनबेच गर्न नपाउने हुँदा गोल्छाले सारडा र मुरार्कालाई जग्गा बिक्री गर्न सकेनन् । दुई वर्ष भन्दा लामो समयसम्मको विवाद पछि दिनेश गोल्छाले सिंगापुरको पार्टनरले जग्गा बेच्न मानेन भनेर ढाँटे । सुशील धनावतको मध्यस्थतामा भएको बैठकबाट बैना फिर्ता गर्ने सहमति त भयो तर दिनेशले पटक–पटक गरेर ४ करोड मात्र बैना फिर्ता गरेको सम्बन्धित व्यक्तिहरूको भनाइ छ ।
पब्लिक कम्पनी लिमिटेड चल्न सकेन र बन्द भयो भने कम्पनी ऐन अनुसार लिक्विडेशनमा लैजानु पर्छ । लिक्विडेटरले कम्पनीको चल, अचल सम्पत्ति बिक्री गरी ऋण फरफारक गर्नु पर्छ र शेयर सदस्यहरूले पाउने पैसा दिएपछि केही बा“की रह्यो भने सो सम्पत्ति नेपाल सरकारको हुन्छ । अरूण वनस्पतीमा त नियम, कानुन केही पालना नगरिकन दिनेश गोल्छाले आफूखुसी गरिरहेको आरोप छन् ।
हाल जुन पत्रू बिक्री भैरहेको छ, त्यो भित्रभित्रै सेटिङ गरेर बिक्री गरिएको हो । कारखानाको मिल मेशिनरी बेच्ने काम सरकारले तुरून्त रोक्नु पर्ने हो । तर कुनै पनि सरोकारवाला निकायलाई कुनै जानकारी नै छैन ।
पब्लिक कम्पनी जति सबै डुबे
नेपालमा पब्लिक कम्पनी लिमिटेडका रूपमा स्थापना भएका उद्योग तथा कम्पनीहरू नेपालका ठूला घरानियाँ उद्योगी व्यवसायीहरूले नै डुबाएका आरोप छन् । ज्योति ग्रुप, चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशन जस्ता ठूला घरानियाँ उद्योगीहरूले एक दर्जन जति कम्पनी डुबाएको आरोप छन् ।
उता सो बिषयमा उद्योग संचालक दिनेश गोल्छा संग बुझ्ने प्रायस गर्दा सम्पर्क हुन सकेन ।
डुबेका कम्पनीहरू यस्तो छ ।
गोरखकाली रबर उद्योग
अरूण वनस्पती उद्योग
बुटबल धागो कारखाना
सेती सिगरेट फ्याक्ट्री
भृकुटी काजग कारखाना
एस ल्याबोरेटोरी
इन्द्रेणी सोयाविन उद्योग
ज्योति स्पिनिङ
नेकोन एयर





