दुहबी / जिल्ला प्रशासन कार्यालय सुनसरीले यहि बैशाक २१ गते जिल्ला कोभिड संक्रमण ब्यवस्थापन समितिको बैठक पछि आदेश जारी गर्दा समेत सुनसरीका उधोगिले टेरेको देखीदैन
जिल्ला प्रशासन कार्यालयले बिश्वभर फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारी पछिल्ला दिनहरुमा सुनसरीमा समेत तीब्ररुपमा संक्रमण बढिरहेको भन्दै सो संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट प्रत्यायोजित अधिकार बमोजिम संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले प्रमुख जिल्ला अधिकारीलाई दिएको अधिकार प्रयोग गरि मिति २०७८/०१/२१ गते मध्यराती देखी बैशाक ३१ गते मध्यरातीसम्म सुनसरी जिल्लाभर लागू हुने गरी बन्दाबन्दीको आदेश जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालय सुनसरीको यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति/संघ संस्था/ पेशाकर्मी/व्यवसायी तथा आमनागरिकको कर्तव्य पनि हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सो आदेशको उल्लंघन गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने पनि जनाईएको छ।
यहि आदेशको बुँदा नम्बर ५मा (हेर्नुहोस आदेश) उद्योग, कलकारखाना र निर्माणकार्य सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्तिबाट सञ्चालन गर्नुपर्ने र त्यस्ता जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसर भित्रै मिलाउने वा कामदार/कर्मचारीहरुलाई उद्योगको सवारी साधनवाट घरबाटै ल्याउने लाने व्यवस्था उद्योग स्वयंले मिलाउनुपर्ने भनिएपनि यो पालना नभएको भेटिएको छ।
यस्तै ५ नम्बर बुँदाको तेश्रो खण्डमा पनि सार्वजनिक तथा निजी निर्माण कार्य गराउँदा कामदारलाई निर्माणस्थलमा नै राख्ने व्यवस्था मिलाएर मात्र सञ्चालन गर्ने भनिएको छ। यो बुँदा पनि पालना भएको छैन।
यसरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट जारी भएको बन्दाबन्दिको आदेश बिपरित बिभिन्न उद्योग एवं सार्वजनिक तथा निजी निर्माण कार्यमा संलग्न मजदुरहरु निर्वाध रुपमा एक ठाउँबाट अर्को ठाउँसम्म गईरहेको भेटिएको छ। बिहान करिव ८बजेदेखि साढे ८ बजेसम्म मास्क पनि नलगाएका निर्माण मजदुर एवं उद्योगका मजदुरहरु साईकलमा हुलका हुल हिडिँरहेको देख्न सकिन्छ ।
प्राय मजदुरहरु सुनसरी मोरङको आसपासका गाउँबाट निर्वाध रुपमा ईटहरी ,दुहबी एवं आसपासका ठाउँमा आवतजावत गरिरहेका हुन्। यदि यि मजदुरमा कोरोना संक्रमण भईहालेमा एक ठाउँबाट अर्को ठाउँको समुदायमा सहजै पुग्ने अवस्था आउने देखिन्छ।





