काठमाडौँ / सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा ६ जनालाई पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र साइबर ब्युरोको संयुक्त टोलीले उनीहरूलाई काठमाडौँ उपत्यकाका लगायत विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरूले ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गरेको खुलेको प्रहरीले जनाएको छ ।
साइबर ब्युरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा उजुरी परेको थियो । प्रारम्भिक अनुसन्धानमा उनीहरूले ठेक्कापट्टाको आर्थिक प्रस्ताव खोल्नुअघि नै त्यससम्बन्धी कागजातहरू परिवर्तन गरी मिलेमतो गरेको पाइएको हो ।
पक्राउ पर्नेहरूमा धनकुटा पाख्रीबासका ३३ वर्षीय दिवाकर देउजा, बझाङ दुर्गाथलीका २५ वर्षीय भरत धामी, तनहुँ बन्दीपुरका ३९ वर्षीय संजय भट्ट, काठमाडौँको बानेश्वरका ३५ वर्षीय भाष्कर राज अर्याल, मकवानपुरका ४० वर्षीय सागर कटुवाल र सुनसरी दुहबीका ६२ वर्षीय जीवन कुमार दास रहेका छन् ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ ।





