दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ स्थित माथिल्लो बस स्टेन्ड क्षेत्रमा दुर्गन्धित पानी बगिरहेको घटनाले स्थानीयवासी चिन्तित बनेका छन्। सडक किनार तथा नाली आसपासबाट बग्ने उक्त पानीका कारण वातावरण प्रदूषित हुनुका साथै आवतजावतमा समेत समस्या उत्पन्न भएको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार केही दिनयता निरन्तर रूपमा गन्हाउने पानी बगिरहेको छ। नजिकै फालिएका फोहोर तथा प्लास्टिकजन्य सामग्रीका कारण नाली जाम भई पानी जमेको र दुर्गन्ध फैलिएको अनुमान गरिएको छ। यसले स्वास्थ्य जोखिम समेत बढाएको भन्दै उनीहरूले तत्काल समाधानको माग गरेका छन्।
“कुन उद्योग वा स्रोतबाट यस्तो पानी आएको हो, स्पष्ट छानबिन गरिनुपर्छ,” एक स्थानीयले भने, “यदि कुनै प्याक्ट्री वा अन्य निकाय जिम्मेवार छ भने कानुनी कारबाही हुनुपर्छ।”
यस विषयमा सरोकार बाला पटक–पटक जानकारी गराए पनि अहिलेसम्म ठोस कदम नचालिएको आरोप समेत स्थानीयले लगाएका छन्। उनीहरूले सरसफाइ, नाली व्यवस्थापन र स्रोत पहिचान गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
वातावरणविद्हरूका अनुसार यस्ता दूषित पानीको दीर्घकालीन प्रभावले स्थानीय बासिन्दामा विभिन्न रोगको जोखिम बढाउन सक्छ। त्यसैले सम्बन्धित निकायले शीघ्र अनुगमन गरी समस्या समाधान गर्न आवश्यक देखिएको छ।





