काठमाडौँ —’पाकिस्तान पर फाइनल हमला सुरु’, ‘पाकिस्तान की राजधानी इस्लामाबाद पर कब्जा’, ‘आधा पाकिस्तान तबाह’, ‘जम्मू एयरपोर्ट से उडें भारत के फाइटर प्लेन’, ‘पाकिस्तान में घुसी भारतीय सेना’ । पहलगाम घटनापछि भारत-पाकिस्तान द्वन्द्व चर्किँदै जाँदा भारतीय मूलधार भनिने टेलिभिजन च्यानलले चलाएका हेडलाइन हुन् यी । दुई छिमेकी मुलक भारत र पाकिस्तानबीच तनाव र शत्रुता बढ्दै गएको छ ।
तर युद्धभन्दा चर्को सुनिँदैछन् भारतीय टेलिभिजनहरू । त्यसो त पाकिस्तानी सञ्चारमाध्यम पनि उस्तै अफवाह फैलाउन उद्दत छन् । दुवैतर्फका सेना र विदेश मन्त्रालयले गर्ने नियमित ब्रिफिङ भरपर्दा र शान्त देखिन्छन् । तर मूलधार भनिने मिडियाले साइरन बजाउँदै पस्कने सनसनीपूर्ण समाचारले सर्वसाधारणलाई त्रसित मात्र बनाइरहेको छ ।
कुनैबेला पत्रकार रवीश कुमारले भनेका थिए, ‘टेलिभिजन हेर्न छाड्नुहोस् ।’ सन् २०१९ मा उनले भनेका थिए, ‘यदि तपाईँ आफ्नो नागरिकता बचाउन चाहनुहुन्छ भने न्युज च्यानल हेर्न बन्द गरिदिनुहोस् । यदि तपाईँ लोकतन्त्रमा एक जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न चाहनुहुन्छ भने न्यूज च्यानल हेर्न बन्द गर्नुहोस् ।’ एनडीटीभी छाडेर रवीश कुमार अफिसियल नामक युट्युब चलाएका रवीशले अहिले पनि उस्तै सन्देश दिएका छन् । उनी भन्छन्, ‘टीभी नहेर्नुस्, सम्झना छैन कहिले भनेको थिएँ तर टीभी नहेर्नुस् ।’ हुन पनि टीभीले युद्धले नबढाएको ब्लड प्रेसर बढ्ने गरी बनावटी समाचार प्रसारण गरिरहेका छन् ।
दुवै देशका मिडिया र सोसल मिडियामा एकपछि अर्को आक्रमणका झुट फैलाइएका छन् । जसले गर्दा सर्वसाधारणमा त्रास उत्पन्न भएको छ । वासिंटन पोस्टसँगको कुराकानीमा दक्षिण एसियाली मामिला विज्ञ माइकल कुगेलम्यान भन्छन्, सरकारतिर ढल्किएका भारतीय मिडियाहरूले ठूलो संख्यामा फर्जी खबर चलाएका छन् ।’ उनको यो भनाइ स्वाभाविक नै हो किनकि भारतमा प्रभावकारी र मूलधारका भनिने हिन्दी च्यानलहरूले नयाँदिल्लीले कराची बन्दरगाह ध्वस्त पारेकोदेखि इस्लामाबाद कब्जा गरेकोसम्म खबर चलाए । त्यति मात्र होइन केही मिडियाले पाकिस्तानी सेना प्रमुख असिम मुनिर पक्राउ पर्न सक्नेसमेत हल्ला फैलाए । अधिकांशले पत्याउनै नसक्ने खालका सूचना सम्प्रेषण गरेर झुट फैलाएको कुगलम्यानको टिप्पणी छ ।
त्यति मात्र होइन पाकिस्तान र भारत दुवैतर्फका मिडिया र सोसल मिडियामा भिडियो गेमका फुटेज पोस्ट गरेर अहिलेको द्वन्द्वका भिडियो भनेर दाबी गरिएको छ । जसको तथ्य जाँच अल्ट न्युजका सम्पादक मोहम्मद जुबैरले गरेका छन् ।
यस पटक सरकारले नै मिडियाका खबरको फ्याक्ट चेक गरेको छ । सरकारले भनिरहेको छ कि, यो सही होइन वास्तविकता यो हो । मूलधारका भनिने भारतीय टेलिभिजनबाट ‘इन्फर्मेसन’भन्दा बढी ‘मिसइन्फर्मेसन’को बाढी देखिन्छ । फेक न्युजको बाढीकै कारण रक्षा मन्त्रालयले सबै च्यानल, डिजिटल प्लाटफर्म र सर्वसाधारणलाई एडभाइजरी नै जारी गरेको थियो । संवेदनशील र स्रोतमा आधारित भन्दै समाचार प्रसारण गर्दा सैन्य अभियान र व्यक्तिकै ज्यान जाने खतरा हुन सक्ने उक्त एडभाइजरीमा उल्लेख छ ।





