मोरङ / प्राविधिक शिक्षालयको लेखा शाखाबाट चेकबुक चोरी गरेर बैंकबाट रकम निकाल्ने एक बिद्यार्थीसहित दुईजना पक्राउ परेका छन् । मोरङ बुढीगंगा गाउँपालिका–४ हात्तीमुढास्थित मनमोहन स्मृति पोलिटेक्निकको लेखा शाखाबाट ७ मंसिरमा चेकबुक चोरी गरी नक्कली हस्ताक्षर र छाप प्रयोग गरेर दुई लाख ६६ हजार झिकेको आरोपमा एक विद्यार्थीसहित दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा पोलिटेक्निकमा अध्यनरत सप्तरी राजविराज नगरपालिका–६ खर्साल टोलका १९ र्षीय सुमित सागर यादव र पूर्व विद्यार्थी २३ वर्षीय टंकप्रसाद यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता डिएसपी वेदप्रकाश शर्माका अनुसार धरौटी राख्न आएका सुमित सागरसँगै आएका टंकप्रसादले लेखा शाखाबाट एकल हस्ताक्षर भएका बैंकका ६ वटा र खाली चेक ८ वटा गरी जम्मा १४ वटा चेक चोरी गरेका थिए । चोरी भएका चेकमध्ये एभरेष्ट बैंकको चेकबाट किर्ते सहीछाप गरी बिभिन्न शाखाबाट दुई लाख ६६ हजार ६९२ रुपैयाँ निकालेका थिए ।
सही गरिसकेका केही चेक हराएको खुलेपछि पोलिटेक्निकले तत्काल बैंक र प्रहरीलाई खबर गरेको थियो । एभरेष्ट बैंक सुनसरी दुहबीमा मंगलबार रकम सटही गर्ने क्रममा हस्ताक्षर नमिलेपछि बैंकले प्रहरीलाई खबर गरेको थियो । इलाका प्रहरी कार्यालय निमुवा मोरङको टोलीले किर्ते छाप र चेकसहित मंगलबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । उनीहरूले आफ्नो अपराध स्विकार गरिसकेको र चोरी कसुरमा अदालतबाट पाँच दिन म्याद थप गराएको मोरङ प्रहरीले जनाएको छ ।




