विराटनगर, २९ असार: अबिरल परेको बर्षापछि संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१ स्थित बेसिन्दा गाउँको बिचैबाट पहिरो खस्दा १२ जना वेपत्ता भएका छन् । आइतबार बिहान करीव २ बजे खसेको पहिरोले आठवटा घर बगाएर लगेको हो ।
पहिरोमा परेका चारजनालाई स्थानीयले उद्दार गर्न सफल भएका छन् । वडा नम्बर २ प्रहरी चौकी बुधबारेबाट खटिएको टोली पनि घटनास्थलमा पुग्न लागेको गाउँपालिका अध्यक्ष रामबहादुर राईले बताए ।
वडा नम्बर १ को मुल बस्ती रहेको बेसिन्दामा करीव ५० घर थिए । निकै दुर्गम क्षेत्रमा घटना भएका कारण घाइतेहरुलाई स्थानीयले नै सामान्य उपचार गरिरहेको जानकारी आएको अध्यक्ष राईले बताए ।
पहिरोले गाउँनै बगाएको खबर आएपछि सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद पुर्णप्रसाद राई याम्फुले आइतबारको प्रदेशसभामा घटनाबारे जानकारी गराएर जिल्ला फर्किने तयारी गरिरहेको जानकारी दिए ।