दुहबी / तीव्र गतिमा रहेको मोटरसाइकल सुनसरीको दुहवीमा दुर्घटना हुँदा ४५ वर्षीय सञ्जय राजवंशीको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१ का राजवंशीले चलाएको प्रदेश १–०४–००१ प ०३३४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकल कोसी लोकमार्गअन्तर्गत दुहवी नगरपालिका–८ जुट मिल्सनजिक आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।उनका अनुसार शुक्रबार दिउँसो १२ः३० बजेतिर अनियन्त्रित बनेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राजवंशीलाई उपचारका लागि सामुदायिक अस्पताल खनार पठाइएको थियो ।उपचारकै क्रममा दिउँसो २ः४५ बजेतिर मृत्यु भएको एसपी ढकालले बताए । अति नै तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको जानकारी दिँदै प्रहरीले घटनाको अनुसन्धान थालिएको जनाएको छ ।