दुहबी / मोरङको बूढीगङ्गा गाउँपालिका–६ का ३२ वर्षीय विनोद चौधरी चोरीको मोटरसाइकलसहित आज (आइतबार) बिहान पक्राउ परे ।
सुनसरीको दुहवी नगरपालिका–३ मा डेरा बस्दै आएका उनलाई प्रहरीले चोरीको को ३२ प ८९७९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको थियो । तर उनै विनोदसँग हतियार पनि रहेको पुष्टि भएको छ । दुहवीस्थित उनको कोठाबाट प्रहरीले आज बिहान हतियार बरामद गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले मोटरसाइकल चोरी गर्ने गिरोहको खोजीमा निस्किएको टोलीले चोरीमा संलग्नबाटै हतियार फेला पारेको जानकारी दिए । उनका अनुसार सुरुमा चोरीको मोटरसाइकलसहित पक्राउ परेका विनोदको कोठामा छापा हान्दा हतियार पनि फेला परेपछि घटनाले नयाँ मोड लिएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले छापा हानेर दुहवीमा रहेको विनोदको कोठाबाट एउटा चाइनिज पेस्तोल, म्यागजीन र एक राउन्ड गोली फेला परिएको जानकारी दिए । उनका अनुसार विनोदबाट बरामद भएको मोटरसाइकल गत माघमा उदयपुरका विवेक चौधरी र मोरङको बूढीगङ्गाका सञ्जय चौधरीले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोटरसाइकल बूढीगङ्गाका श्रीकृष्ण तामाङको हो
तामाङले आफ्नो मोटरसाइकल चोरी भएको जानकारी प्रहरीलाई गराएका थिए । त्यसकै खोजी गरिरहेको प्रहरीले अहिले मोटरसाइकल र चोरीमा संलग्न व्यक्तिलाई हतियारसहित पक्राउ गर्न सफल भएको हो । सुरुमा मोटरसाइकल चोरेर विवेक र सञ्जयले बूढीगङ्गा–६ का २९ वर्षीय मुकुन्द चौधरीलाई बेचेका थिए ।
त्यसपछि मुकुन्दले कमिसन लिएर विनोदलाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कोइरालाको भनाइ छ । ‘विवेक र सञ्जयले मोटरसाइकल चोरी गरेर मुकुन्दलाई बेचेको पाइएको छ,’ घटनाका बारेमा प्रष्ट पार्दै एसपी कोइरालाले भने, ‘त्यसपछि मुकुन्दले विनोदलाई बिक्री गरेका रहेछन् ।’ चोरीमा संलग्नसँग मोटरसाइकल किनेर कमिसन लिँदै तेस्रो व्यक्तिलाई बेच्ने धन्दामा मुकुन्दको संलग्नता देखिएको उनको भनाइ छ
विवेक, सञ्जय, मुकुन्द र विनोद अहिले मोरङ प्रहरीको हिरासतमा छन् । हतियारसहित पक्राउ परेका विनोदविरुद्ध प्रहरीले हातहतियार खरखजना लगायतका मुद्दा चलाउने तयारी गरेको छ ।
मोटरसाइकल चोरीका घटना बढेपछि नियन्त्रणमा लिन एसपी कोइरालाले विशेष अप्रेशन चलाएका छन् । अप्रेशनसँगै चोरीमा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । पछिल्लो एक महिनाको अवधिमा प्रहरीले चोरीका २१ वटा मोटरसाइकल फेला पारेको छ । चोरीमा संलग्न १६ जनालाई पक्राउ गरेर अनुसन्धान प्रहरीले अनुसन्धान एवम् कारबाहीको दायरामा ल्याएको छ ।
‘पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेको उजुरी प्रहरीमा धेरै परिरहेको छ । चोरी नियन्त्रणका लागि प्रहरीको विशेष टोली परिचालन गरेर प्रमाण जुटाउँदै विभिन्न कोणबाट अनुसन्धान एवम् खोजी गर्ने काम भइरहेको छ,’ कोइरालाले भने, ‘चोरी भएका २१ वटा मोटरसाइकल र चोरीमा संलग्न १६ जना एक महिनाको अवधिमा पक्राउ परेका छन् । अरु केही शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाइएको छ ।’
पक्राउ परेकाको कनेक्सन र अनुसन्धानबाट खुलेको प्रमाणका आधारमा चोरी गर्ने गिरोहमाथिको कारबाही तीव्र पारिएको जानकारी उनले दिए । एसपी कोइरालाका अनुसार मोटरसाइकल चोरी गर्ने गिरोहलाई तहसनहस बनाउने गरी प्रहरीले आफ्नो कारबाही अघि बढाएको छ ।





