विराटनगर / चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरि भारतबाट नेपाल आएर गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गरेर बिरामीलाई ठगेको आरोपमा मोरङको पथरीशनिश्चरे र सुन्दरहरैंचाबाट दुईजना नक्कली चिकित्सक पक्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलबाट ईलाज इजाजत अनुमति प्राप्त नगरि बिरामीको उपचार गराउँदै आएका चिकित्सक भनिएका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दार्जिलिङ रानिगन्ज पानसाली पञ्चायतका पर्सनजित बर्मन र देबीगञ्ज ग्रामपञ्चायतका सनोड मण्डल रहेका छन् । बर्मनले पथरीशनिश्चरे–१ फिलिम हल लाइनमा श्रीराम पाईल्स क्लिनिक र मण्डलले सुन्दरहरैचा–३ गछियामा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका थिए ।
प्रहरीले मोरङको पथरीशनिश्चरे नगरपालिका–१ फिलिम हल लाईनमा सञ्चालित श्रीराम पाईल्स क्लिनिक र सुन्दरहरैंचा–३ गछियामा सञ्चालित कल्पना आयुर्वेदिक क्लिनिक खोलेर डाक्टर बताउने उनीहरुलाई सोमबार नियन्त्रणमा लिइएको हो उनीहरु विरुद्ध मेडिकल काउन्सिलसँग समेत पारमर्श लिएर मोरङ जिल्ला अदालतबाट ईलाज सम्बन्धि कसुरमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।





