अजमल नेपाली
इनरुवा । कोशी गाउँपालिका-२ का कार्यवाहक वडा अध्यक्ष द्रोपती देवी साहलाई निलम्बन गरिएको छ । साह विरुद्ध परेको उजुरीको आधारमा कोशी गाउँपालिकाले उनलाई निलम्बन गरेको हो ।
कोशी गाउँपालिका-२ मा कोभिड-१९ महामारीबाट प्रभावितलाई नगद हस्तान्तरणका लागि नामावली सिफारिस गर्दा र सुरक्षित नागरिक आवास कार्यक्रमको लागि अनुदान रकम भुक्तानीमा अनियमितता गरेको भन्दै जनसमुदायले गरेको प्रदर्शन र सामाजिक संजाल लगायत लिखितम रुपमा विभिन्न उजुरी परेकोले उनलाई निलम्बन गरिएको कोशी गाउँपालिकाले जनाएको छ ।
गत मंगलवार स्थानीयहरुले वडा कार्यालयदेखि गाउँ कार्यपालिकासम्म कार्यवाहक वडा अध्यक्ष साह विरुद्ध विभिन्न किसिमका नारावाजी गरेका थिए । वडा अध्यक्षलाई निलम्बन गर, आफ्नो आसेपासेलाई रकम हस्तान्तरण गर्न पाइदैन, वडा अध्यक्ष मुर्दावाद, यस्तो वडा अध्यक्ष चाहिदैन, निलम्बन नगरे कडा आन्दोलन हुन्छ भन्ने लगायतका नारावाजी गरेका थिए । उनीहरुले दिनभर नारावाजी गर्दै गाउँपालिका अगाडी धर्ना दिएको थियो ।
साह विरुद्ध परेको उजुरीको आधारमा निष्पक्ष छानबिन गर्नुपर्ने भएकोले हाल कार्यवाहक वडा अध्यक्ष पदबाट द्रोपती देवी साहलाई स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११६ अनुसार निलम्बन गरिएको छ । वडा अध्यक्ष साहले विपन्नलाई वितरण गरिएको आवास रकमको ११ हजार रुपियाँ कमिसन लिएकोले आरोप छ ।
कोशी गाउँपालिकाका वडा २ का अध्यक्ष हिरालाल यादवको मृत्यु भएपछि तत्कालीन वडा सदस्य साहलाई करिब डेढ वर्षअघि कार्यवाहक वडा अध्यक्ष बनाइ कामकाजको जिम्मेवारी दिएको थियोे ।
छानबिन समिति गठन
कोशी गाउँपालिका-२ मा विभिन्न अनुदान रकम हस्तान्तरणमा अनियमितता भएको भन्दै गाउँपालिकामा उजुरी आएपछि तीन सदस्यीय छानबिन समिति गठन भएको छ । गाउँपालिकाले छानबिनका लागि कोशी गाउँपालिका-१ का वडा अध्यक्ष राजकुमार साहको संयोजकत्वमा समिति गठन गरेको छ ।
छानबिन समितिको सदस्यमा नागरिक समाजको तर्फबाट कोशी गाउँपालिका वडा-२ का ब्रहमदेव यादव र सामाजिक विकास शाखाका प्रमुख राजकिशोर मेहता रहेका छन् ।
समाचार श्रोतका अनुसार भोलि कार्तिक १३ गते कार्यपालिकाको निर्णयबाट अर्को वडा सदस्यलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी तोक्ने जानकारी प्राप्त भएको छ ।