इटहरी / इटहरी उपमहानगरपालिकाको फोहोर मैला व्यवस्थापनमा अनियमितता भएको समाचार प्रसारण गरेका पत्रकार प्रकाश तिम्सिनालाई धम्की दिएका छन् । फोहोर मैला व्यवस्थापनको जिम्मा पाएको वेस्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रालीका अध्यक्ष मोहन भण्डारीले अश्लील भाषामा धम्की दिएका हुन् ।
गत सोमबार ‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा कम्पनीको ढिलासुस्तीले फोहोर मैला व्यवस्थापन नभएको र त्यस बापत इटहरी उपमहानगरपालिकाको खर्च बढेको समाचार प्रसारण भएको थियो । सुनसरी संवाददाता तिम्सिनाले तयार पारेको रिपोर्टमा २०७५ वैशाखमा ९ महिना भित्र फोहोर मैला प्रशोधन केन्द्र स्थापना गर्ने र त्यतिन्जेल सम्मको लागी उपमहानगरले मासिक ३ लाख दिने सहमति भएको उल्लेख छ । तर कम्पनीले हालसम्म पनि प्रशोधन केन्द्र तयार नपारेर ७ पटक म्याद थप गरी उपमहानगरपालिकाको १ करोड २९ लाख बढी खर्च भएको रिपोर्टमा उल्लेख गरिएको छ ।
सोही विषयलाई लिएर अध्यक्ष भण्डारीले तिम्सिनालाई ‘समाचार प्रसारण गर्ने अधिकार कसले दियो ?’ भन्दै धम्की दिएका छन् । फोन वार्ताको सुरुमै निक्कै आक्रामक भएका भण्डारीले “के आधारले न्युज लेखेको ? तपाई जे पायो त्यही मनपरी लेख्ने फटाहा !” भन्दै गाली गर्छन् । तिम्सिनाले केही सम्झाउन खोजे पनि अझै झर्किँदै भण्डारीले, “यो अधिकार कसले दियो । हु आर यु ? तिमि तुरुन्तै नगरपालिका आउँ” भन्दै बोलाउँछन् ।
तिम्सिनाले आफू बाहिर कार्यक्रममा भएको र धेरै हप्कीदप्की नगर्न आग्रह गर्छन् । त्यसपछि झनै झक्कीएका भण्डारीले अश्लील रूपमा “हप्काउने मात्र हैन मु…. तँलाई…” भन्दै आक्रोश पोख्छन् ।
पत्रकार तिम्सिनाले बारम्बार “थर्काउनु पर्दैन, ९ महिनामा सक्ने काम अहिले सम्म किन नसकेको त !” भन्दै प्रष्ट पार्न खोज्छन् । तर उनलाई बोल्नै नदिई भण्डारी एकोहोरो आइलाग्छन् ।
“यो के को आधारमा लेखेको स्पष्टीकरण दिनुपर्छ । तिमीहरू पत्रकार भएर जेपायो त्यही लेख्न मिल्छ ? सत्य तथ्य गरेको लेख,” भण्डारी थप आक्रोशित हुँदै भन्छन् । उता पत्रकार तिम्सिना भने जनमतमा भनिएको कुरामा आफूलाई आरोप लगाउन नमिल्ने तर्क गर्छन् ।
शुक्रवार नगरपालिका अगाडी नआए राम्रो नहुने भन्दै भण्डारीले भुल सुधार नगरे घरमै खोज्दै आउने चेतावनी दिएका छन् । केही पछि तिम्सिनाले “हेपेको ?” भन्दै प्रतिकार गर्न खोजेपछि भण्डारी केही नरम भएका छन् । त्यसपछि शुक्रवार भेटेर कुरा गर्ने गरी सहमतिमा आउँछन् भण्डारी । समाचार अवैधानिक भएको तर्क गर्दै उनले मेयर शाव र वातावरणविद् सँग कुरा गरेर काम गरेको बताएका छन् ।
कपुरी निवज बाट साभार





