काठमाडौं / अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा रोजगारदाता र सरकार इच्छुक नरहेको बताएका छन् ।
बिहीबार अखिल नेपाल स्वास्थ्य श्रमिक संघको पूर्ण बैठकमा बोल्दै अध्यक्ष सिम्खडाले यस्तो बताएका हुन् ।
उनले भने, “नयाँ संविधान बनेपछि हामीले भन्ने गरेको संघीयता, गणतन्त्र, धर्म निरपेक्षता आयो । समानुपातिक, समावेशिता, आरक्षण लगायत प्रतिनिधित्वको सुनिश्चितता भयो । त्यतिमात्रै होइन् श्रम ऐन आयो, योगदानमा आधारित सामाजिक सुरक्षा योजना पनि आयो तर ऐन कार्यान्वयनमा रोजगारदाता मात्रै होइन सरकार पनि इच्छुक नदेखिँदा मजदुरको अधिकार प्राप्तिका सवाल कागलाई पाकेको बेल जस्तै भयो ।”
योगदानमा आधारित सामाजिक सुरक्षा योजना मजदुरको हित विपरीत हुन्थ्यो भने रोजगारदाताले मात्रै होइन् सरकारले पनि आफ्ना अस्थायी, करार, ज्यालादारी श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गरिसकेको हुन्थ्यो,” सिम्खडाले भने, “योगदानमा आधारित सामाजिक सुरक्षा योजना आम श्रमिकको पक्षमा छ, श्रमिकहरु भ्रममा पर्नु हुँदैन्
अन्टुफ अध्यक्ष सिम्खडाले पछिल्लो समय ट्रेड युुनियनमा श्रमिकको नेता र रोजगारदाता उस्तैउस्तै देखिने, श्रमिकले कानुनअनुसार हकहित र अधिकारको कुरा गर्दा आफ्नै नेताहरुबाट डराउनु पर्ने प्रवृत्ति हुर्किंदै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उक्त प्रवृत्तिको समूल अन्त्य गर्न रूपान्तरण जरुरी रहेको बताए ।
आफूलाई मजदुर संगठनको नेता भन्ने तर मजदुरमारा काम गर्ने ? ठेकेदार, मालिकसँग मिलेर खाने ? मजदुरले रोजगारदातासँग भन्दा श्रमिकका नेतासँग डराउनु पर्ने ?” उनले प्रश्न उठाउँदै भने, “अब मसिनो गरी बहस गरौं । संगठन शुद्धीकरणसहित मजदुरले गर्व गर्न लायकको संगठन बनाउन अघि बढौं ।”
महासंघले कुशल संगठकलाई महाधिवेशनमा पुरस्कृत गर्ने भन्दै मालिकसँग मिलेर खाने जुनसुकै तहको नेता भए पनि सांगठनिक कारवाही हुने बताए ।