दुहबी / सुनसरीका उद्योगीहरुले सरकारले आफुहरुकालागि खोप उपलब्ध नगराएको गुनासो पोखेका छन् ।
खोप अभावमा कामदार व्यवस्थापनमा चुनौती देखा परेको बताएका उद्योगीहरुले पर्याप्त मात्रामा खोपको व्यवस्था मिलाईदिन सरकार समक्ष आग्रह गरेका हुन् ।
तेस्रो लहरको जोखिम बढ्दो क्रममा रहेकाले समेत निर्वाध उद्योग संचालनको वातावरण तयार पार्न खोप उपलब्ध गराइनु पर्ने उनीहरुको माग छ ।
सीमित जनशक्ति भएका उद्योगहरुले भनसुनको भरमा वडा मार्फत खोप पाएपनि ठूला उद्योगहरुले भने कामदारका हकमा खोपको प्रवन्ध मिलाउन सास्ती झेल्नु परेको गुनासो पोखेका छन् ।
सुनसरीको दुहवी–खनार लाइनमा मात्रै तीन दर्जनको संख्यामा उद्योग संचालनमा छन् । अधिकांश ठूला उद्योग रहेको त्यस क्षेत्रका उद्योगीहरुले खोपको मामलामा आफुहरु उपेक्षामा परेको बताएका छन् ।
इटहरी–दुहवी खण्ड अन्तर्गतको खनारमा पर्ने रिलायन्स स्पिनिङ मिल्स लिमिटेड एकसाथ ५ हजार कामदारलाई रोजगारी दिने क्षमताको उद्योग हो । सोमवार समाचार संकलनको लागि पुग्दा उद्योग प्रशासनले दिएको जानकारी अनुसार ४ हजार मजदुर एकसाथ कार्यरत थिए ।
मिल्सका कर्मचारी प्रशासन प्रमुख महेश पोखरेलका अनुसार उद्योगले पर्याप्त सावधानी अपनाएपनि खोप अभाव खड्किएको बताए । उनले रोजगारीकालागि आउने कामदारमा अझै कोरोनाको त्रासदी कायम रहेको बताए । जसले उद्योगको उत्पादन क्षमतामा सोचे अनुसार उपलब्धी हात लाग्न नसकेको बताए ।
पोखरेलले ठूला उद्योगको हकमा कोटा छुट्याएरै खोप उपलब्ध गराइनु पर्ने माग गरेका छन् । उनले देशकै अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्ने उद्योग क्षेत्रलाई खोपको प्राथमिकतामा राखिनु पर्ने बताए । पोखरेलले तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै निर्वाध उद्योग संचालनको वातावरण तय गर्न समेत खोपको उपलब्धता आवश्यक भएको बताए ।
यस्तै एशियन थाई फुड्स प्रालिका महाप्रबन्धक समिर साहले समेत खोप अभावको समस्या झेल्नु परेको बताए । उनले कोरानाको जोखिम दिनानुदिन बढ्दो क्रममा रहेकाले कामदारलाई सुरक्षित तवरले काम गर्ने वातावरणको लागि खोपको उपलब्धता अनिवार्य भएको बताए ।
साहले स्थानीय पालिका र जिल्ला प्रशासन समक्ष खोप पहल गरिदिन ताकेता गर्दै आएपनि हात लाग्न भने नसकेको सुनाए ।
पूर्वकै ठूलो तयारी कपडा निर्यात कम्पनी मानिने पल्स फेसन सोलुसनले स्वास्थ्य सावधानीका उपाय अपनाई उद्योग संचालन गरिरहेतापनि सबैका लागि खोप भने उपलब्ध गराउन नसकेको जनाएको छ ।
पल्स फेसन सोलुसनका एक्सपोर्ट डिभिजन म्यानेजिङ डाइरेक्टर निमेश प्रधानले केहिले आफु पायक तवरले खोप लगाएपनि अधिकांश कामदार भने अझै खोपको पहुँचबाट टाढै रहेको बताए । प्रधानले कोरोनाका कारण उद्योगले निकै समस्या समेत झेल्नु परेको बताए । उनले तेस्रो लहरको जोखिम समेत थपिएकाले सुरक्षित साथ काम गर्ने र गराउने वातावरणको लागि खोपको सहजता दिलाउन सरोकारवाला समक्ष आग्रह गरे ।
उता एशिएन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिका महाप्रबन्धक महेशप्रसाद साहले स्वास्थ्यका सावधानी अपनाई कामदारलाई काममा लगाएको बताए । उनले सकेसम्म स्वास्थ्यका मापदण्ड पालना गरिएको बताउँदै सबैकालागि खोपको उपलब्धता हुन सके प्रभावकारी हुने बताए ।साहले उद्योग कोरोना महामारीका बिच समेत सघर्षरत अवस्थाबाट संचालनमा रहँदै आएको
बताए ।
दुहवी लगायत जिल्लाका विभिन्न भेगमा रहेका सबैजसो उद्योगले खोपको अनिवार्यतामै जोड दिएका छन् । उनीहरुले स्थानीय तह र प्रशासनबाट कामदारको हकमा खोपको सहज व्यवस्था हुन नसकेको बताएका छन् ।
यता कोरोनाको तेस्रो चरणको जोखिम बढेसँगै कामदारमा समेत त्रास बढ्न थालेको पाइएको छ । उनीहरुले खोपको सहजता दिलाइनु पर्ने माग गर्न थालेका छन् । खोपका लागि उद्योग प्रशासन समग्र माग गरिरहेको उनीहरुको भनाई छ । कतिपय कामदारले परिचय पत्र अभावमा खोप लगाउन नपाएको जस्ता गुनासो गरिहरेका छन् ।
कोरोनाको मारमा परी २५ देखि ३० प्रतिशत उत्पादन कटौती गर्न बाध्य उद्योगधन्दा पूर्ववत अवस्थामा फर्कने क्रममा रहेपनि कोरोनाको तेस्रो लहरको जोखिम बढेसँगै उद्योगीमाझ पूनःव्यवसाय थलिने चिन्ता बढाएको छ ।
रामभरोसे कोरोना, खोप लगाउनेकै भीडमा छैन दुरी
अमर काफ्ले साउन १८ गते इनरुवा (ब्लाष्ट)
खोप लगाउन उर्लेको भीड देख्दा लाग्छ रामभरोसे कोरोना । न दुरी छ नत मास्कको अनिवार्यता नै ।
सरकारले तेस्रो चरणको चेतावनी दिइसक्दा समेत सर्वसाधारणमा पर्याप्त सावधानी देखिएको छैन् ।
उपलब्धताका आधारमा वितरण भैरहेको केन्द्रहरुमा खोप लगाउनेको अव्यवस्थित भीडले कोरोनाको जोखिम दिनानुदिन बढाई रहेको छ । त्यसतर्फ सरोकारवालाले खासै चासो दिएको देखिदैन् ।
सुनसरीमा एकसाता अघि भेरोसेल खोप लगाइदा उर्लेको भीड यतिबेला जोन्सन एण्ड जोन्सन खोप लगाउँदा समेत दोहोरिएको छ । २ हजार सकृय संक्रमित रहेको जिल्लामा अव्यवस्थित भीडले कोरोनाको जोखिम थप बढाएको छ ।
सुनसरीमा अघिल्लो चरणमा भेरोसेल खोप वितरण गरिएकामा हिजोबाट भने बिदेश जानेको हकमा जोन्सन खोप लगाइदै छ
स्वास्थ्य कार्यालयले दुई दिनको मिति तोकी बैदेशिक रोगजारीमा जानेकालागि जोन्सन खोप लगाइने सूचना जारी गरेसँगै कार्यालय परिषरमा विहानैबाट युवाहरुको भीड देखिन थालेको छ ।
पासपोर्ट र भिषा बोकेर घण्टौं लाइन बसेका युवाहरुमा पालोकालागि तछाडमछाड हुँदा भीड वेपरवाह बनेको छ । भौतिक दुरी कायम गराउने सवालमा प्रहरी प्रशासन समेत निरीह देखिएको छ ।
बढ्दो भीडलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालयले अब भने पालिका तहमै खोप केन्द्र संचालनमा ल्याइने जनाएको छ ।