दुहबी / सुनसरी जिल्लाभर बैशाख ३१ गतेसम्मको लागि निषेधाज्ञा थपिएको छ ।
आज जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसि बैठकले जिल्लामा कोरोना संक्रमणको दर तीब्ररुपमा वृद्धि हुदै गएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको अवधि बैशाख ३१ गतेसम्मको लागि थप गर्ने निर्णय गरेको हो । यसअघि निषेधाज्ञाको अवधि बैशाख २४ गतेसम्मको लागि तोकिएको थियो ।
बैठकले अत्यावश्यकबाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु बैशाख २१ गते राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्म पुर्णरुपमा रोक लगाउने निर्णय गरेको छ।
महेन्द्र राजमार्ग हुदै सुनसरी जिल्ला भएर अन्य गन्तव्यमा गएका सवारीसाधनहरु भने जिल्ला भर रोक लगाउन नपाउने निर्णय बैठकले गरेको छ । यस्तै, अत्यावश्यक सेवाका सवारीहरु पनि निर्वाध चल्न पाउनेछन् ।
बैठकले औषधी, खाद्यवस्तु तथा अत्यावश्यक बस्तु वा सेवा खरिदबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नदिने पनि निर्णय गरेको छ ।
खाद्य वस्तु, खाना पकाउने ग्याँस, तरकारी फलफुल, दुध डेरी, निर्माण सामग्रीलगायत अत्यावश्यक पसल व्यवसायीहरु बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न दिने र अन्य सम्पुर्ण पसल, व्यवसायीहरु पुर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । 






