प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७६१ जनाको पीसीआर परीक्षण गरिएकोमा २३ महिला र ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । थप ५४ जनामा मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८७९ पुगेको छ । प्रदेशमा शनिबार कोरोनामुक्त भएर १६ जना डिस्चार्ज भएका छन् । उनीहरु सबै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन् । प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ८३५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै मोरङका रहेका छन् ।
विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुषको कोरोनाबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा शनिबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २७ जना र अन्य १२ जना प्रदेश २ का रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म ९७ हजार २२१ जनाको कोरोना परीक्षण गरिएको छ ।





