दुहबी/ सुनसरीको दुहबीमा हिंसा पीडितहरु लगायतलाई न्यायमा पहुँच पुर्याउने उदेश्यले दुहबी नगरपालिकाले नि:शुल्क हटलाइन सेवा बिस्तार गरेको छ । बिदाको दिन वाहेक आइतबार देखि बिहीवार बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म र शुक्रबार बिहान १० बजे देखि बेलुकी ३ बजे सम्म नि:शुल्क हटलाइन सेवा संचालनमा रहने जनाइएको छ । महिला,बालबालिका, अशक्त असहाय तथा ज्येष्ठ नागरिकहरु लगायतको न्यायमा पहुँच र घरेलु हिंसा न्यूनीकरणकालागि नि:शुल्क हटलाइन टेलीफोन नम्बर (१६६०२५५८८९५) जारी गरिएको छ ।
दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले नि:शुल्क हटलाइन सेवाको समुदघाटन गर्दै द्रुत गतिमा न्यायमा पहुँच पुर्याउन नि:शुल्क हटलाइन सेवाबाट दुहबीवासि प्रत्यक्ष लाभान्वित हुने बिश्वास व्यक्त गर्दै दिगो विकासकालागि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् । नि:शुल्क हटलाइन नम्बरमा फोन गरेर दुहबीको सवैखाले समस्याहरुको संबंधित शाखामा जनाउ दिन सकिने मेयर गच्छदारले जनाए ।
दुहबी नगर उपप्रमुख मेनुका पोखरेल खतीवडाले चुनावमा दुहबीका नागरिकसंग गरेको वाचाको संकल्प पत्र अनुसार नि:शुल्क हटलाइन सेवा विस्तार गरेको जानकारी दिदैं स्थानीय हिंसा पिडिंत नागरिकलाई राहत तथा क्षतिपुर्तिको ब्यबस्था गरिरहेको बताइन् । न्यायीक समिति कानुन तथा मानव अधिकार प्रबर्द्धन शाखा दुहबीको आयोजनामा आज भएको पत्रकार सम्मेलन मार्फत नि:शुल्क हटलाइन सेवाबारे जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा दुहबीका वडाअध्यक्षहरु प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसि, सुरक्षाकर्मी,कर्मचारीहरु लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।